पर्यटकको गन्तब्य बन्दै मौलाकाली केबलकारः ९ महिनामा ८ करोडको व्यापार

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित मौलाकाली केबलकारले ९ महिनामा ८ करोडभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को ९ महिनाको अवधिमा ८ करोड १० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो । यसअघि आर्थिक वर्ष २०७९।८० मा कम्पनीको सञ्चालन आम्दानी २ करोड ४० लाख रुपैयाँमा सीमित थियो । तर, केबलकार सञ्चालनको पहिलो पूर्ण वर्ष मानिएको २०८०।८१ मा आम्दानी बढेर १० करोड ७० लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षमा आम्दानी थप वृद्धि हुने देखिएको छ । २०७९।८० मा सञ्चालन नाफाको अनुपात ६३ प्रतिशत थियो । २०८०।८१ मा यो ७९ प्रतिशतमा पुगेको छ भने गत वर्षको ९ महिनामा ८३ प्रतिशत मा पुगेको छ । कम्पनीको ऋण समेत सन्तोषजनक नै रहेको छ । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीले चुक्तापूँजीको १.८ गुणा बढी ऋण लिएको हो । २०७९।८० मा कम्पनीको कुल ऋण–शुद्ध सम्पत्ति अनुपात १.८ गुणा र २०८०।८१ मा २.२ गुणामा पुगेको थियो । २०७९।८० मा बाह्य दायित्व–शुद्ध सम्पत्ति अनुपात २.१ गुणा, २०८०।८१ मा २.४ गुणा र चालु वर्षको ९ महिनामा २।० गुणा रहेको छ । कुल ऋण–सञ्चालन नाफा अनुपात २०७९।८० मा ६१.७ गुणा थियो, जुन २०८०।८१ मा घटेर १३.६ गुणा र गत वर्षको ९ महिनामा १५.९ गुणामा पुगेको छ । २०८०।८१ मा ब्याज आवरण अनुपात १.८ गुणा र गत ९ महिनामा १.५ गुणा रहेको छ । तर, बैंकलाई तिर्नुपर्ने ब्याजको केही भाग लेखापरीक्षणमा पूँजीगत लागतका रूपमा देखाइएकाले समायोजनपछि यो अनुपात २०८०।८१ मा ०।९ गुणा र गत ९ महिनामा १.४ गुणा हुने देखिएको छ । सन् २०१६ अक्टोबरमा स्थापित मौलाकाली केबलकार लिमिटेड (एमसीएल) ले नवलपुर जिल्लाको गैँडाकोटमा ६५ कोठे रिसोर्टसहितको केबलकार सञ्चालन गरिरहेको छ ।

यस परियोजनाको केबलकार खण्डले २०२३ अप्रिल महिनाको मध्यदेखि सञ्चालन प्रारम्भ गरेको हो भने होटल भने हालै २०२५ मे महिनाको मध्यदेखि सञ्चालनमा आएको हो । कम्पनीमा चन्द्रप्रसाद ढकाल र हेमराज ढकालको व्यक्तिगत तथा उनीहरूको नजिकका अन्य संस्थामार्फतको संयुक्त लगानीद्वारा बहुमत स्वामित्व रहेको छ । केबलकारमार्फत धार्मिक र प्राकृतिक सौन्दर्यको संयोजनले पर्यटकहरूका लागि मुख्य गन्तव्य बन्न सफल भएको छ। प्रसिद्ध मौलकालिका मन्दिर नजिकै रहेको यस स्थानले तीर्थयात्रीहरूसँगै आराम र विलासिताको खोजीमा आएका भ्रमणकर्ताहरूलाई आकर्षित गरिरहेको छ। यसको रणनीतिक अवस्थाले मौलाकालीलाई नवलपुर जिल्लामा पर्यटन प्रवर्द्धनको नयाँ केन्द्रको रूपमा विकास गरिरहेको छ। इक्रा नेपालले मौलाकाली केबलकार लिमिटेडको इश्युअर रेटिङ आईसीआरए एनपी इश्युअर रेटिङ डबल बी माइनस पुनः कायम गरेको छ । यो रेटिङ प्राप्त निकायहरूलाई वित्तीय दायित्वहरू समयमै पूरा गर्ने मामिलामा मध्यम स्तरको डिफल्ट जोखिम भएको मानिन्छ । यससँगै, कम्पनीको दीर्घकालीन ऋण सीमा १ अर्ब ४२ करोड १० लाख रुपैयाँका लागि आईसीआरए एनपी एल डबल बी माइनस रेटिङ कायम गरिएको छ भने छोटो अवधि ऋण सीमा (पहिलेको १८० मिलियन रुपैयाँ) को रेटिङ खारेज गरिएको छ । अघिल्लो मूल्याङ्कनमा दीर्घकालीन ऋण सीमा १ अर्ब ५३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *