नाइमा अटो एक्स्पो सम्पन्न, एक लाखभन्दा बढीले अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । एक्स्पोको सफलताले आयोजक तथा व्यवसायीहरू उत्साहित भएका छन् । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको र यसले समग्र अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा थपेको बताइन् । एक्स्पोको सफलतासँगै व्यवसायीहरूले सरकारसँग अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन र स्थिर नीतिको माग गरेका छन् । अध्यक्ष वैद्यले हरेक बजेटमा करका दरहरू परिवर्तन हुँदा उद्योगमा अनिश्चितता छाउने र लगानीको वातावरण बिग्रने गरेको बताइन् । ‘हाम्रो चाहना भनेको अटोमोबाइल क्षेत्रमा नीतिको स्थिरता हो ।

कम्तिमा ५ देखि १० वर्षसम्म स्थिर नीति भएमा मात्र उद्योगले सही योजना बनाएर अघि बढ्न सक्छ । उनले सरकारले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु र कर उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्र चलायमान बनाउने एक आवश्यक क्षेत्रको रूपमा बुझ्नुपर्नेमा जोड दिइन् । एक्स्पोमा सहभागी ५० भन्दा बढी ब्रान्डका व्यवसायीहरूले राम्रो व्यापार र ग्राहकहरूको चासोबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । छुट र अफरका कारण पनि ग्राहकहरूको आकर्षण बढेको थियो । अवलोकनकर्ताहरूले पनि एकै छानामुनि विभिन्न ब्रान्डका गाडीहरू हेर्न, तुलना गर्न र खरिद गर्न पाउँदा खुसी व्यक्त गरे । नाइमाले भविष्यमा यस्ता एक्स्पोलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन भृकुटीमण्डपमा एउटा स्थायी र आधुनिक प्रदर्शनी हल आवश्यक रहेको बताएको छ । ‘यो विषयमा हामीले अर्थमन्त्रीज्यूसँग पनि कुरा राखेका छौं र उहाँबाट सकारात्मक आश्वासन पाएका छौं, अध्यक्ष वैद्यले भनिन्, ‘राम्रो पूर्वाधार भएमा हामीले अझ उत्कृष्ट कार्यक्रम गर्न सक्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *