परराष्ट्रमन्त्री राणासँग विपिन जोशीका आमा–बहिनीको भेट, रिहाइमा थप पहलको आग्रह
काठमाडौँ। हमास समूहको नियन्त्रणमा रहेका महेन्द्रनगरका विपिन जोशीका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेका छन् ।
भेटका क्रममा जोशी परिवारले मन्त्री राणा र परराष्ट्र मन्त्रालयले हालसम्म विपिनको रिहाइका लागि गरेका प्रयासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रूपमा पहल जारी राख्न आग्रह गरे ।
मन्त्री राणाको पहलमा तथा नेपालस्थित इजरायली दूतावासको समन्वयमा आमा र बहिनी हालै इजरायल पुगेका थिए । त्यहाँ उनले राष्ट्रपतिदेखि उच्च अधिकारीहरूसम्म भेटेर विपिनको तत्काल रिहाइका लागि अपिल गरेका थिए । फर्किएपछि उनीहरूले मन्त्री राणालाई त्यहाँको अवस्थाबारे जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री राणाले सरकारले विपिनको रिहाइमा निरन्तर कूटनीतिक पहल गरिरहेको र आगामी दिनमा यसलाई अझ सशक्त बनाइने प्रतिबद्धता जनाइन् । उनले आफू मन्त्रीमा नियुक्त भएलगत्तै यस मुद्दालाई प्राथमिकतामा राखेको बताउँदै संयुक्त राष्ट्रसंघीय महासभादेखि द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तासम्म निरन्तर विपिनको रिहाइको मुद्दा उठाइरहेको प्रष्ट पारिन् ।
उनले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्की लगायतका मुलुकका विदेशमन्त्री र अधिकारीसँगको भेटमा समेत यो विषय बारम्बार उठाएको जानकारी दिइन् । महेन्द्रनगरका २२ वर्षीय विपिन जोशी सन् २०२३ अक्टोबरमा इजरायलमा अध्ययनरत रहँदा हमास समूहद्वारा अपहरणमा परेका थिए । हालसम्म उनको अवस्था अज्ञात छ ।