१७औँ संस्करणको नाडा अटो शो, २०२५ सम्पन्न, एक लाख ६० हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । भदौ ३ देखि सुरु भएको काठमाडौंको भृकुटीमण्डपमा १७औँ संस्करणको नाडा अटो शो, २०२५ सम्पन्न भएको छ । यसपटकको नाडा अटो शो भव्यरूपमा सफल भएको नाडाका अध्यक्ष करण चौधरीले दाबी गरे । हामीले १७औँ संस्करणको नाडा अटो शो, २०२५ निकै भव्य बनाउन सफल भएका छौँ । यो ऐतिहासिक शोमा एकलाख ६० हजार बढी दर्शकले अवलोकन गर्नभएको तथ्यांक छ । नाडाको ६ दिन ऐतिहासिक उपलब्धि भएको चौधरी बताउँछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका यी उपलब्धिहरूलाई एउटा शुभारम्भको रूपमा लिएको छु ।

यसले हाम्रो अपेक्षामा अझ वृद्धि भएको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ, अध्यक्ष चौधरीले भने । समापन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नाडाले गरेको नीतिगत विषयलाई आफूले पनि मन्त्रिपरिषद्मा उठाउने बताए । नेपालमा प्रत्येक वर्ष हजारौँ मानिसको सडक दुर्घटना हुने गरेको र त्यसलाई सडक सुरक्षाका बारेमा प्रभावकारी बनाउन सके कम हुने उनको भनाइ छ । अहिले सरकारी तथ्यांकअनुसार प्रतिदिन सात जनाको मृत्यु भएको देखिन्छ, सरकारी तथ्यांक सही नहुन सक्छ । कतिपय दुर्घटना दर्ता भएका हुँदैनन् । त्यसकारण यो निकै ठूलो संख्या हो । प्रदर्शनीमा नाडाले हरेकदिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । यसैक्रममा शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीको उपस्थितिमा सडक र यातायात विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । आइतबार समापनका कारण प्यानल डिस्कसन कार्यक्रम नराखिएको नाडाले जनाएको छ ।