शिक्षक महासंघले सोमबारदेखि देशव्यापी आन्दोलन गरे सुरु
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि पुनः देशव्यापी आन्दोलन सुरु गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकार कमजोर बनाएको आरोप लगाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । यसअघि वैशाख महिनामा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो तर भदौ ६ मा प्रतिनिधि सभामा पेस भएको नयाँ विधेयकमा सहमति कार्यान्वयन नभएपछि शिक्षक पुनः सडकमा उत्रिएका हुन् ।
महासंघले विगतका (२०७५, २०७८, २०८० र २०८१/८२) सहमति कार्यान्वयन गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति, आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्र नवीकरण, विद्यालय कर्मचारीको तलब–पद व्यवस्था, बालकक्षा शिक्षकको सेवा, निजी विद्यालय शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकलाई उपदान तथा दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोधलगायतका माग अघि सारेको छ ।
आन्दोलनको पहिलो चरणमा सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउने, भदौ ११ देखि २० सम्म केन्द्रीय कार्यालय, पालिका र जिल्लास्तरमा दुई घण्टे धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ । यस्तै, भदौ २१ देखि दोस्रो चरणमा धर्ना, अवरोध र विरोध प्रदर्शनजस्ता कडा कार्यक्रम सञ्चालन गरिनेछ ।