एमाले र कांग्रेसको केन्द्रीय कार्यालयसहित मन्त्री क्वाटरलाई ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र

काठमाडौं । ललितपुरमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय रहेको क्षेत्र र भैंसेपाटीस्थित मन्त्री क्वाटर रहेको क्षेत्र समेत ४ स्थानमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एमाले केन्द्रीय कार्यालय रहेको च्यासल क्षेत्रका साथै कांग्रेस केन्द्रीय कार्यालय रहेको सानेपा क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ । त्यस्तै पुल्चोकको न्यायाधीश निवास र यूएन हाउस क्षेत्र र भैंसेपाटीमा रहेको नयाँ मन्त्री निवास क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासनले पुल्चोकस्थित यूएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्रमा पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिममा राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय सहकारी विकास बोर्डको भित्रको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

त्यस्तै भैंसेपाटी स्थित नयाँ मन्त्री निवास क्षेत्रको पूर्वमा भैंसेपाटीबाट बुंगमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरमा भैंसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओह्रालो सीमा कायम गरी सो भित्रको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ । यस्तै सानेपा स्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्रमा पूर्वमा सानेपाचोकबाट ईन्द्रायणी मन्दिर पक्की सडक, पश्चिमतर्फ बल्खु पुलदेखी मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरतर्फ चक्रपथ सडकको सर्भिस लेन (बल्खु पुलदेखि सानेपा चोकसम्म), दक्षिणतर्फ ईन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ । यस्तै च्यासलस्थित नेकपा (एमाले) पार्टीको केन्द्रीय कार्यालय रहेको क्षेत्रमा पूर्वमा मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिमतर्फ च्यासल रंगशाला, उत्तरमा मनोहरा खोला, दक्षिणतर्फ मल पोखरी जाने बाटोसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *