व्यवसाय सञ्चालनमा सहजीकरण र सुरक्षाको व्यवस्था गर्न नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्वाध व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था र विभिन्न क्षेत्रमा सहजीकरणका लागि सरकारसँग जोडदार आग्रह गरेको छ। महासंघले आन्दोलनका कारण निजी क्षेत्रले अर्बौं रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको अवस्थामा तत्कालै व्यवसाय सुरु नगर्दा यसले अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएको छ । महासंघले आन्दोलनका क्रममा उद्यमी व्यवसायीका उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड तथा आगजनीका घटना भएकोमा कडा भर्त्सना गरेको छ। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएको आक्रमणबाट मुलुकभर नै अर्बौंको क्षति भएको अनुमान गरिएको छ । यसले राजश्व तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मै गम्भीर नकारात्मक असर पर्ने महासंघले जनाएको छ। निजी क्षेत्रका गतिविधि निर्वाध रुपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या आउने र आगामी दिनमा राजश्वमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै महासंघले आम सर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि तत्काल सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ। महासंघले निषेधाज्ञा एवं कर्फ्यूका समयमा पनि अत्यावश्यकीय सेवा तथा पेशाकर्मीहरुको आवतजावतका साथै औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता वस्तुहरुको ओसारपसारमा सहजीकरणका लागि पनि आग्रह गरेको छ। यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरमा रहने सुरक्षा समितिमा महासंघ एवं यसका सदस्य उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्नुपर्ने महासंको धारणा छ। यसैगरी, महासंघले गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिन प्रयत्नशील रहन देशैभरका सबै उद्यमी व्यवसायीसँग आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएपनि धेरै भन्सार नाका अहिले बन्द रहेकोमा अत्यावश्यकीय लगायतका सामान आयात निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई सुचारु गर्ने वातावरण निर्माणका लागि पनि महासंघले सरकारसँग आग्रह गरेको छ। युवा पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारीलगायतका विषयमा देखाएको चासोको सम्मान गर्दै विकसित घटनाक्रमको विवेकपूर्ण अवतरण भई समुन्नत नेपाल निर्माण हुने अपेक्षा महासंघले राखेको छ। देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ समन्वय एवं सहकार्य गर्न तयार रहेको पनि जनाएको छ। नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रका विषय समावेश हुँदा अर्थतन्त्र चलायमान भई समुन्नति र स्थायित्व कायम हुने विश्वास महासंघले लिएको छ। सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव हुने बताउँदै महासंघले स्थायित्वका लागि लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने समेत महासंघको धारणा छ । बुधबार महासंघको कार्यकारिणी समितिको बैठक बसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *