शिक्षा क्षेत्र सुधार हुने एनप्याब्सनको विश्वास

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिँदै शिक्षा क्षेत्रमा सुधारको अपेक्षा गरेको जनाएको छ । संगठनकी अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री कार्कीको नेतृत्वमा शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार, समावेशी पहुँच र दिगो विकास सुनिश्चित हुने विश्वास व्यक्त गरेको हो । विज्ञप्तिमा शिक्षा जीवनको आधारशिला भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीको कार्यकालमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, पेशागत सम्मान कायम गर्ने, निजी तथा आवासीय विद्यालयहरूको लगानी र विकासलाई प्रोत्साहन गर्ने, शैक्षिक पूर्वाधार सुधारमार्फत दिगो विकास गर्ने तथा शिक्षा क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । संगठनले संविधानको रक्षा गर्दै शिक्षा, शान्ति, प्रगति र समृद्धिलाई सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएको छ । साथै मुलुकलाई शैक्षिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न तथा शैक्षिक पर्यटनमार्फत विश्वभर सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वास प्रकट गरेको छ । युवाहरूको चाहनाअनुरूप शिक्षामा समान पहुँच, स्वतन्त्र पेशा–व्यवसायको वातावरण र लगानी प्रवर्द्धनमा प्रधानमन्त्रीको कार्यकाल महत्त्वपूर्ण बन्नेमा आफूहरू विश्वस्त रहेको नेसनल प्याब्सनले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *