आगजनी तथा तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि रास्वपा नगर सभापतिले पार्टी छोडे
काभ्रेपलाञ्चोक । गत २४ भदौमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि रास्वपा पनौतीका नगर सभापति विवेक भट्टराईले पार्टी परित्याग गरेका छन् । पनौती नगरपालिकाभित्र निजी तथा सरकारी सम्पत्तिमा आगजनी एवं तोडफोडमा संलग्न रहेका भिडियो र फोटो बाहिर आउन थालेपछि रास्वपाका नगर सभापति विवेक भट्टराईले पार्टी छाडेको घोषणा गरेका हुन् । भट्टराई काठमाडौं विश्वविद्यालय कुप्समा ल्याब टेक्निसियन पदमा कार्यरत छन् । २४ भदौमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जारा, पूर्वमेयर भीम न्यौपाने, क्याप्टेन रामेश्वर थापा, पूर्वसांसद शिव हुमागाईं, वडा नम्बर २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारी लगायतको घरमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । पूर्वसांसद हुमागाईंको पनौतीस्थित घरमा रहेको गाडीमा रास्वपाका नगर सभापति भट्टराईले नै आगो लगाएको भिडियोमा देखिन्छ । पनौती क्षेत्रको आन्दोलनको नेतृत्व उनै भट्टराईले सम्हालेका थिए । पनौती बसपार्कमा जम्मा भएको भिडले हुमागाईंको घर तोडफोड तथा गाडीमा आगजनी गरेपछि पनौती नगरपालिका तोडफोड गरेको थियो । त्यसपछि त्यो टोली पनौती नगर उपप्रमुख गीता बञ्जाराको घर, रामेश्वर थापाको घर, पनौती नगरका पूर्वप्रमुख भीम न्यौपानेको घर जलाएर वडाध्यक्ष अधिकारीको घर तोडफोड गर्न पुगेको थियो । पनौती नगरपालिका, उपमेयर बञ्जारा र रामेश्वर थापाको घरसम्म आगो लगाउन पुगेका भट्टराई भीम न्यौपानेको घरमा भने भिड रोक्न सकेनौं भनेर फर्किएका थिए ।
न्यौपानेको घर जलाउन टोली गएपछि न्यौपानेलाई रास्वपा सभापति भट्टराईले फोन गरेर ‘मामा भिड रोक्न सकिनँ, ज्यान जोगाउनु है’ भनेर फर्किएका थिए । न्यौपानेले भने, ‘मलाई रास्वपा नगर सभापति भट्टराईले साँझ साढे ७ बजेतिर मामा मैले भिड रोक्न सकिनँ जोगिनुस भन्दै फोन गरे । तर फोन गरेको केही मिनेटमा नै मेरो घरमा लुटपाट र आगजनी भयो । दुईवटा घर जलाए । मेरो परिवार अहिले छिमेकीको शरणमा छ ।’ तोडफोड र आगजनीका भिडियो सार्वजनिक भएपछि भट्टराईले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘हिजो भएको जेनजीको आन्दोलनमा पार्टीको झन्डा त्यागेर जनताको रूपमा उत्रन आह्वान गरेको थिएँ । नगरपालिका लगायतमा भौतिक क्षति हुन नदिनका लागि सकेको प्रयत्न गरेकै हो । त्यस क्रममा मलाई चोट लाग्यो । त्यसपछि म घर फर्किएँ । अनि उग्र बनेको भिडले सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याएको खबर पाउँदा दुःख लागेको छ ।’ उनले लेखेका छन्, ‘परिवर्तन हाम्रो चाहना हो, जुन भविष्य ले देखाउँला । हाललाई नैतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापतिको रूपमा रहिरहन मेरो आत्माले दिँदैन । त्यसैले आजकै मितिबाट सक्रिय राजनितिलाई यहीँ बिसर्जन गर्दै मेरो पदबाट राजीनामा दिएको घोषणा गर्दछु ।