इमेज सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
ललितपुर । लगनखेलमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेको सभापतित्वमा भएको सभाको प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघका महासचिव तथा बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सदस्य नेत्र पौडेल रहेका थिए । सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०८१।०८२ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष घिमिरेले समुदायमा केन्द्रीत भएर सञ्चालित संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरणमा लागि परेको बताए । उनले संस्थाले सहकारी शिक्षा मार्फत् सदस्यहरुलाई सहकारीको महत्वको बारेमा जानकारी दिँदै गलत सूचनाको पछाडि नलागि संस्थाहरुसँग नियमित रुपमा जोडिएर वित्तीय कारोबार गर्ने वातावरण बनाएको बताए । अध्यक्ष घिमिरेले संस्थाले आर्थिक मन्दीका बिचमा पनि सदस्यहरुलाई ऋण लगानी गरेको र कुनै पनि समय ऋण लगानी नरेको बताए । संस्थामा गत आर्थिक बर्षसम्म १ हजार ६९३ सदस्य आवद्ध रहेको छन् भने कुल सम्पत्ति १२ करोड ९० लाख पुगेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी १ करोड ६४ लाख र बचत संकलन ७ करोड १७ लाख ७५ हजार पुगेको छ । संस्थाले आर्थिक बर्ष २०८१।८२ को असार मसान्तसम्म कृषि, व्यवसायिक, धितो,हायर पर्चेच, लघु,शेयर र अल्पालिन क्षेत्रमा गरी १० करोड ९५ लाख २० हजार ऋण लगानी गरेको छ ।

संस्थाले यस आर्थिक बर्षमा समयानुकूल बचत संकलन तथा ऋण लगानी गर्ने, कर्मचारी र सञ्चालकको क्षमता वृद्धिको लागि विभिन्न तालिमको आयोजना गर्ने,विद्युतिय कारोबारलाई अझ प्रभावकारी बनाउने र लामो समयदेखि संस्थाको ऋण तिर्न आलटाल गरेका सदस्यहरुबाट कानुनी बाटोबाट ऋण असुली गर्ने जस्ता योजना बनाएको छ । लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै समितिका संयोजक नवराज दाहालले समितिले दिएको सुझावहरु सञ्चालक समितिले क्रमश लागु गर्दै लगेको बताए । संस्थाको कोषाध्यक्ष गुरु प्रसाद नेपालले आ।ब। २०८१।८२ को आर्थिक प्रतिवेदन तथा यस आबको योजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए । सभाले आगामी चार बर्षको लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।
















