जेन्जी आन्दोलनको (भाद्र २३-२४) प्रत्यक्षदर्शीको भोगाई
काठमाडौँ । जेन्जी पुस्ताको आन्दोलनमा बि.पी. काँग्रेसको जिम्मेवार व्यक्ति भएको नाताले म र मेरो सानो टिम हामी शान्तिपूर्ण रूपमा हाम्रो सहभागिता दर्साउँदै भदौ २३ गते बिजुली बजार, काठमाडौँको रोडमा निस्किऊँ । हाम्रो टीममा बिपी कांग्रेसका केन्द्रीय कार्यालय सचीव सर्वजित शेरचन (थकाली) सहित सानो टोली थियो । त्यो दिनको सरकारी दमनको नाङ्गो रूप देखियो । युवा सडकमा ढलेको हेर्दाहेर्दै हामी मात्र मूकदर्शक बन्न पुगियो ।
भदौ २४ गते सरकारले कर्फ्यु लगायो । म कलङ्की मै थिए ।
अब लागौँ
गत भदौ २४ गते आन्दोलनको गतिविधि हेर्दै साथीहरू म, केन्द्रीय कार्यालय सचीव सर्वजित शेरचन (थकाली) सँग भेटघाट गर्दै यो आन्दोलन जनताको आन्दोलन हो, यसमा तेरो मेरो नभनीकन आम नेपालीहरू सहभागिता हुन जरुरी छ भन्दै सहभागिता गर्दै गर्दा एक जना साथीले परिचय माग्नु भयो, वहाँको नाम थियो फणीन्द्र काफ्ले, ढाक्रे बाबा पनि भन्छन् मलाई भन्नुभयो । मैले काँग्रेसमा धेरै सङ्घर्ष गरेँ, तर मलाई काँग्रेसले साथ दिएन त्यसैले मलाई यो नयाँ पुस्ताले चलाएको आन्दोलन मन परेर मनैदेखी होमिएको हुं । त्यसैले यो उमेरमा पनि जोशका साथ आएको छु, मर्नको पनि कुनै परवाह छैन भन्नुभयो । त्यसपछि तपाईँ त निकै पक्का, जिम्मेवार देखिनुहुन्छ, लौ लागौँ भन्दै हामी अगाडी बढ्यौँ………
त्यसपछि ढुङ्गेअड्डा भन्ने ठाउँको पारी पट्टी गृहमन्त्री रमेश लेखकको घर जलाएर ठुलो धुवाँको मुस्लो आयो । हामी पनि जाऔं हेर्न भनेर अलि पर पुगेर घर नजिकै पुग्दा गाडीसँगै आएका रहेछन्, काम सिद्धियो तपाईँहरू फर्कनुहोस् भने । त्यसपछि हामी कलङ्की पुग्यौँ । कलङ्कीको प्रहरी चौकी जलाउने, ट्राफिक आइलेण्ड भत्काएर आगो लगाउने काम भएपछि प्रहरीले अश्रु ग्याँस चारैतिर बर्साउन थाले । हामी गल्लीमा बस्यौँ र केही अश्रु ग्याँस कम भएपछि हामीले यो जनताको आन्दोलन हो सबै आउनुहोस् भनी सिधै सोल्टी मोड हुँदै कालीमाटी जाँदै गर्दा ट्राफिक आइलेण्ड जलाउन थाले, यो हाम्रो सम्पत्ति हो यसलाई क्षति पुर्याउनु हुँदैन भन्न नपाउँदै झोला भिरेका, हेलमेट लगाएका, बढी प्रोटेक्टर र साँङ्गला हातमा लिएका २६ देखि २७ वर्ष उमेर समूहका केटाहरूले कालीमाटीको चौकी जलाउनतिर लागे, अश्रु ग्याँसको पनि परवाह नगरी अगाडि बढे । हामी चाहिँ गल्लीमा बसेर अश्रु ग्याँसले असर गरेपछि एभरेस्ट बैङ्क, कालीमाटी नजिक आउँदा माथि छतबाट मलाई ताकेर मेरोतर्फ पनि ढुङ्गाले हानेको रहेछ । यसो हेर्दा गोलो ढुङ्गाले हानेको कुराको भेउ पाएपछि मलाई झन्डैले टाउकोमा लागेन, म जोगिए । यसो हेर्दा त्यहाँ सिभिल ड्रेसमा प्रहरी जस्तो लाग्ने व्यक्तिले हानेको जस्तो लागेको थियो भनेर मसंगैको अपरिचित ब्याक्तीले भन्यो । यसैविच हाम्रो टोलीले प्रदर्शनको क्रममा घाईतेहरुलाई उपचारमा मदत पुर्याउन एम्बुलेन्स मगाएर अस्पताल पठाउने काम निरन्तर गरिरहेयौ ।
त्यसपछि सिधै टेकु हुँदै जाँदै गर्दा एक्कासि तराई बासी जस्ता देखिने हामीले कराउँदा कराउँदै साल्ट ट्रेडिङ्ग तिर जान लागे हामीले यो जनताको सम्पत्ति हो भन्दाभन्दै पनि आक्रोशमा आएको भिडले हाम्रो कुरा मानेनन्, जलाउन पुगे । त्यसपछि हामी सिधै त्रिपुरेश्वर तिर जाँदै गर्दा कम्पनी रजिस्ट्रारको कार्यालय अगाडिको एउटा भिडले यो अफिस पनि जलाउनु पर्छ भन्दै गर्दा हामीले यो जनताको सम्पत्ति हो जुन सरकार आए पनि यो पछि हामीलाई नै चाहिन्छ भन्दै गर्दा एक जना महिला र बच्चा पनि कम्पनी रजिस्ट्रारको कार्यालयको चौरमा निकै डराए जस्तो गरी भित्र बसे त्यसपछि हामीले त्यहाँ जलाउन दिएनौँ । हामीले भनेको माने । त्यसपछि राहदानी विभाग कन्सुलरको कार्यालयमा जलाउन पर्खालमा चढ्न नपाउँदै हामी यो हाम्रो पासपोर्ट बनाउने ठाउँ हो, यहाँ देशभरिको जनताले पासपोर्ट बनाउने ठाउँमा विदेशमा गएका मान्छेहरूको समेत रेकर्ड रहेको हुन्छ, यो हाम्रो सम्पत्ति हो तपाईँहरू जानुहोस् भनी हामीले चर्को स्वरमा भनेपछि हामीले भनेको माने । त्यसपछि हामी अगाडि बढ्दै जाँदा थापाथली पुग्दै गर्दा कान्तिपुरको कार्यालयमा आगो लागि सकेको रहेछ । त्यसपछि माइतीघर तर्फ अघि बढ्दै जाँदा वाणिज्य बैङ्कतिर भिड भित्र जान लागेको देखेर कसैलाई सम्झाई बुझाई कसैलाई गाली गरेर फर्कायौँ र अर्को टोली त सिंहदरबारभित्रै आगो लगाउन पुगेछन् हामी त माइतीघर मण्डला पुग्दै गर्दा त्यो भिड सिंहदरबारतर्फ मोडिएको देखियो ।
ल बर्बाद हुने भयो भनेर सिंहदरबारमा पुग्दा नपुग्दै आन्दोलनकारी प्रधानमन्त्रीको कार्यालयमा आगो लगाइसकेको थियो ।
हामी नजिकै पुग्दा त आर्मीसँग कुराकानी भइरहेको थियो आन्दोलनकारीको। आर्मीको भनाई सुनियो हामी त जनताको आर्मी हो हामीले तपाइँहरुलाई केही गरेका छैनौँ र गदैनौ हामीलाई असर पर्ने काम नगर्नुहोस् भनेको सुने । त्यसपछि थाहा भयो अब सिंहदरबार जल्नबाट आर्मीले पनि हात झिकेको भान भयो । म झसङ्ग भए यो मुलुकमा के हुन्दैछ भनेर ? सिंहदरबार जलेर भष्म हुन सुरु भैईसकेको आँखा अगाडि देखे । त्राहिमाम् त्राहिमाम् भइयो । आन्दोलनकारीको ठुलो ग्रुप तोप पड्काउने ठाउँमा तोपको गोला लिएर यताउता हिँड्न थाले, यो यहीँ राख्नुहोस् यो नचलानुस भनेर भन्यौँ र फुल टिपेर केही युवाहरूलाई हातमा दियौँ । हातमा फुल बोकेर तोपमाथि हात हल्लाउन थाले । मैले पनि युवाहरूको हातमा भएको फुल भाँचेर हातमा लिएर सिंहदरबार कब्जा भएको सङ्केत गरेँ र यी जनताको रगत खानेहरूलाई लखेटियो भनेर हात हल्लाएँ ।
त्यसपछि सिंहदरबारमा एक जना २६-२७ वर्षका युवा युवतीले पूर्वी गेटको ढोका तोडफोड गर्न लागे र इट्टाले गेटमा हान्न थाले । त्यसपछि मैले यो ढोका नफोड्नुहोस्, हाम्रै सम्पत्ति हो भनेँ त्यस लगतै बाहिर निस्के ।
सिंहदरबारको पश्चिम गेट आई पुग्दा नपुग्दै सिंहदरबारको धुवाँले हामी श्वास फेर्न नसक्ने स्थितिमा थियौ । अब बसेर हुन्न माइतीघर तर्फ जान यसो मोडिन के लागेका थियौँ, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालयबाट आएको धुवाँको मुस्लोले जान सकिएन ।
अब पुतली सडकबाट अगाडि बढ्न थाल्यौ । केही युवाहरू एक्कासि सशस्त्रको दुई वटा गाडी चलाएर सबै जना माथि बसेर कसैले प्रहरीको ड्रेस, कसैले सरकारी लोगो भएको सिलजस्तो झुन्डाएर नारा लगाउँदै अगाडि बढे । अब प्रधानमन्त्री निवास बालुवाटार जाने भनेर धोबीधारा, कुमारी हलतिर लागे । तर म चाहिँ त्यता नगई हात्तीसार तिर लागेँ । एक्कासि जिल्ला वन कार्यालय जलेको देखे, त्यसपछि जय नेपाल हलमा नपुग्दै एउटा टोलीले पेपर प्रिन्ट गरेर ट्राफिक आइलेण्डमा चढी यो हाम्रो सम्पत्ति हो हामीलाई चाहिन्छ नजलाऔँ भनेर छातीमा टाँसेर देखाए तर आवेगमा आएको युवाले के मान्थे । ट्राफिक आइलेण्ड ढालेर जलाउन थाले, म चाहिँ सिधै दरबारमार्ग तिर लागेँ । दरबारमार्ग पुग्दा त दरबारमार्ग प्रहरी वृत्त जली रहेको रहेछ । त्यसपछि सिधै रत्नपार्कमा पुग्दा त महानगरीय प्रहरी कार्यालय अगाडि राखिएका गाडीहरू सबै जली रहेको रहेछ । त्यसपछि आरएनएसी नजिक पुग्दा आगो लागेको लाग्न सुरु भएको देखेँ ।
त्यसपछि सहिदगेटमा हामी पाँच सात जना बस्यौँ र केही समयमा एउटा जुलुस आयो ल अब अगाडि बढौँ भन्ने कुरा भयो । त्यही समयमा एक जना मानिस हतासमा दौडिँदै आयो, हाल्फ पेन्ट लगाएको होचो होचो बाहुन क्षेत्री जस्तो देखिने गोलो फ्रेम भएको चस्मा लगाएको मान्छे आएर हामी बसेको ठाउँमा ल यो नागरिक पत्रिका प्रचण्डको हो यो जलाउनुपर्छ भन्यो । मैले उसलाई त्यस्तो नगर्न भने अनि सम्झाए जसले जे भन्यो त्यो बहकाइमा लाग्नु हुँदैन । हेर साथी हो त्यता जानु हुँदैन भनेर हामी फेरी एउटा टोली सेन्ट्रल जेल तिर लाग्दै गर्दा म पनि आर्मीको गेटमा पुगेँ । त्यसपछि एक जना आर्मीसँग कुरा हुँदै गर्दा एक जना महिला मेजर कमान्डर हुनु हुँदो रहेछ अत्यन्त शालीन तरिकाले अनुशासित तरिकाले हामी तपाईँहरू जनताको आर्मी हो हामीले तपाइँहरुलाई अहिलेसम्म असर पुग्ने काम कारबाही गरेका छैनौँ । तपाईँहरूले पनि हामीले भनेको मानिदिनुहोस् भन्दै गर्दा हामीले पनि हस् धन्यवाद भन्दै त्यहाँबाट फर्कियौँ । यसरी हाम्रो शान्तिपूर्ण र जिम्मेवारीपूर्ण तरिकाले बि.पी. पार्टीको तर्फबाट संवेदनशिलपूर्ण र जिम्मेवार पूर्ण भूमिका आफूले सकेको जति मन वचन र कर्मले भ्याएसम्म सरकारी कार्यालय तोडफोड, आगजनीबाट बचाउने प्रयास गर्दागर्दै पनि यो आन्दोलन हाम्रो नियन्त्रणमा रहन सकेन ।
तितो यथार्थ सम्झिदा मन नै कुँडिएर आउँछ । किन किन नेपाली काँग्रेस भित्रको बेथिति जड शेरबहादुर देउवा हो भन्न लाग्छ । सम्झन्छु २०५२ साल देखि शेर बहादुर देउवाले गरेको आदि-इत्यादि रवैया अपनाएर प्रधानमन्त्री पद जोगाउनकै लागि सांसदहरू किनेर जनताले बुझाएको राजस्व दोहन गरी स्वार्थी गुटको र माफियाको रजगजमा सत्ता चलाएको देख्दा पार्टीका हामी जस्ता कार्यकर्तालाई मन परेको थिएन । त्यही सयमादेखि शेरबहादुर देउवा नेपाली काँग्रेसका लागि घातक प्राणी हो भन्ने म र म जस्ता केही युवा साथीहरूमा आभास भएको थियो । सोही समयदेखि गठबन्धन सरकार जुन जुन बने, त्यो त्यो समयमा न्यायालयमा पार्टीको न्यायाधीश बनाउने, न्यायपालिका, व्यवस्थापिका सांसदलाई समेत सरकारको नियन्त्रणमा राख्ने गरेको भन्दै भण्डाफोर गर्ने हाम्रा साथीहरूको दृढ सदिच्छा सहितको एजेन्डा त्यही समयदेखि भित्री रूपमा बल्न थालेर भुसको आगो जसरी जलिरहेको थियो हाम्रो मनमा । नेपाली काँग्रेस कार्यशैली मन नपराउने सानो भए पनि हाम्रो टिम नेपाली काँग्रेस बि.पी.जन्मेपछि आजसम्म यही पार्टीमा जोडिएका छौँ ।
आजको अवस्थामा ल्याउने नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी अरू सबै सत्तामा पुगेर रस चुस्न पल्केका सबै परजीवीहरूबाट मुक्ति पाएको अनुभूति भएको छ ।
जय नेपाल ।
जय बि.पी. वाद ।
(स्थलगत रूपमै खटिने रोमन पुरी: नेपाली काँग्रेस, बि.पी. का केन्द्रीय सदस्य तथा यूथको राष्ट्रिय इन्चार्ज हुनुहुन्छ)