पैसाको सुरुङ भेटिएको कुरा भ्रामक: देउवाको सचिवालय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा निवासमा भएको आक्रमण पश्चात सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएपछि सचिवालयले खण्डन गरेको हो । पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको भन्दै देउवाको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा थप भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन् ।’साथै, सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरिएको उल्लेख गर्दै उक्त ट्याङ्की पानी राख्नका लागि भएको दाबी गरिएको छ । ‘जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यलाई जोडेर सम्पादित फोटो र भिडियोहरू युट्यबु तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति कांग्रेस सभापति देउवाले दुःख जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको स्वकिय सचिव भानु देउवाले उल्लेख गरेका छन् । साथै सभापति देउवा र कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमणको विज्ञप्तिमा भत्सना गरिएको छ । भदौ २४ गते बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवाको निवासमा जेनजी आन्दोलनका नाममा युवाहरूको समूहले तोडफोड गर्दै देउवा दम्पतिमाथि कुटपिट गरेका थिए ।
