आज घटस्थापना दुर्गापूजाको आरम्भ
आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ । सूर्योदयदेखि १० घडीसम्मको समयमा शुद्ध स्थानमा घटस्थापना गरी तिलको तेलद्वारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ। पूजा कोठा वा दसैँ घरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर पवित्र बनाउनु पर्दछ । घट भन्नाले घडा कलश लाई जनाउँदछ भने स्थापना भन्नाले स्थापना गर्ने कार्य । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरु, घण्टी बजाउँदै सप्तशती चण्डी पाठ गरी दुर्गा भवानीको स्तुति गान गर्नुपर्दछ । पूजामा दुर्गाको नौ दिन आजबाट नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको जितको सन्देश फैलाइन्छ । दुर्गाको आवाहन गर्दै पूजा गर्ने ठाउँलाई कलश (पवित्र जल राखिएको घडा) लाई शुद्ध जलले भरि पञ्चपल्लव (बर, पिपल, समी, आँप, डुम्री) राखिन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरी जमरा उमारिन्छ । दशमीको दिन देवीको प्रशादको रुपमा जमरालाई शिरमा राखिन्छ जसलाई शुभता र आशीर्वादको प्रतीक मानिन्छ । पूजामा शक्तिस्वरूपा दुर्गा भवानीको नौरुप–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाका नामले पनि प्रसिद्ध छ । फूल, धूप, दियो, जल र अन्नको प्रयोग गरी मन्त्र जप र स्तोत्र पाठ गरिन्छ । प्रमुख शक्ति पीठहरू भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, खाँडादेवी, कालीमाई लगायत देशका अन्य स्थानका शक्ति पीठमा समेत दुर्गा भवानीको पूजा गरिन्छ । त्यसै गरी देवदेवीका मन्दिर र शक्ति पीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ ।
महासिद्धिप्रदं धम्र्यं सर्वशत्रुनिबर्हणम् ।
सर्वलोकोपकारार्थं विशेषादतिवृष्टिषु ।।
क्रत्वर्थ ब्राह्मणाहीश क्षत्रियैर्भूमिपालने ।
गोधनार्थं विशा वत्स १ शूद्रैः पुत्रसुखार्थिभिः ।।
सौभाग्यार्थं स्त्रिया कार्यमाख्यैश्च धनकाङ्गिभिः ।
महाव्रतं महापुण्यं शङ्कराडद्यैरनुष्ठितम् ।।
अर्थ
नवरात्रको व्रतलाई महासिद्धि दिने, दुर्लभ, सबै शत्रुको संहार गर्ने र सबै प्राणीहरूको उपकार गर्ने विशिष्ट व्रत मानिएको छ । ब्राह्मणहरूले यज्ञ सम्पादनका निमित्त, क्षत्रियहरूले पृथ्वी प्राप्तिका निमित्त, वैश्यहरूले गोधनको वृद्धिका निमित्त, शूद्रहरूले पुत्र सुख प्राप्तिको निमित्त, नारीहरूले सौभाग्य प्राप्तिका निमित्त र सम्पन्न व्यक्तिहरूले धन प्राप्तिको निमित्त नवदुर्गामा भगवती महिषासुरमर्दिनीको उपासना गर्दछन् । यो महापुण्यदाय महाव्रत शङ्कर, ब्रह्माजी, भगवान् विष्णु, इन्द्र आदि देवताहरूले पनि विभिन्न अवसरमा नवदुर्गामा नवरात्र व्रत गरेको मान्यता रहि आएको छ ।
दुर्गा सप्तशतीको पाठ
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्ति पाठ गरेर सङ्कल्प लिनुपर्दछ र प्रथम पूज्य भगवान् श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुपर्दछ । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्दछ । यसपछि मुख्य मूर्तिको षोडशोपचार पूजा गरी देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेय पुराण अन्तर्गत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्दछ । “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यो एक अत्यन्त शक्तिशाली दुर्गा मन्त्र हो । यसलाई चामुण्डा बीज मन्त्र पनि भनिन्छ । यो तन्त्र शास्त्रमा देवी साधना गर्नेहरूले प्रयोग गर्दछन् । नवरात्रमा यो मन्त्रको प्रयोग वा उच्चारण गर्ने र चण्डीपाठ गर्नाले आन्तरिक शक्ति, आत्मबल र साहस जागृत हुन्छ । तान्त्रिक रुपमा दुष्ट शक्ति, भूत प्रेत बाधा तथा नकारात्मक ऊर्जा हट्दछ । साधकहरूले यो मन्त्रलाई १०८, १००८ वा लाखौपटक जपेर सिद्ध गर्न सकिन्छ ।
विचार गर्नु पर्ने
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुपर्दछ । यदि बत्ती घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दायाँतर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बायाँतर्फ राख्नुपर्दछ ।
देवीको आराधनामा प्रयोग गरिने मन्त्र
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।।
पूजनका क्रममा यी मन्त्रहरू उच्चारण गर्नुस्स्
ॐ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा ।
यः स्मरेत् पुंडरीकाक्षं सः बाह्याभ्यंतरः शुचि ।।
ॐ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्ष पुनातु ।।
नमो दैव्यै महादेव्यै शिवायै सततं नमः ।
नमः प्रकृतयै भद्रायै नियताः प्रणताः स्मताम ।।
या देवी सर्व भूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।