कांग्रेसको नेतृत्वमा मधेस प्रदेश सरकार गठन गर्न प्रस्ताव पेस
काठमाडौं । मधेस प्रदेश सरकार गठनका लागि कांग्रेस, एमाले र जनमतले प्रदेश प्रमुखसमक्ष प्रस्ताव पेस गरेका छन् । कांग्रेसको संसदीय दलको नेता कृष्ण यादवको नेतृत्वमा सरकार गठन गर्न नेकपा एमाले, नेपाली कांग्रेस र जनमतले बुधबार प्रदेश प्रमुख कार्यालयमा पुगेर प्रस्ताव पेस गरेका हुन् । जनमतका नेता महेश यादवले जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिइसकेकाले कार्यान्वयन गर्नुपर्ने बताए ।
जेनजी आन्दोलनका क्रममा जुन प्रस्तुति थियो । त्यो प्रस्तुतिअनुसार मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत राजीनामा पनि दिइसक्नु भएको थियो । राजीनामा आइसकेपछि पार्टीले नैतिक रूपमा आत्मसात गर्दै पत्राचार गरिसके पनि फिर्ता आउन चाहनु भएन । त्यही प्रस्तुति अनुरुप हामीले फिर्ता पनि बोलायौँ तर फिर्ता नआएपछि हामी सरकार निर्माण गर्ने हिसाबले अघि बढेको हो । सरकार निर्माणका क्रममा भएको सहमतिअनुसार नै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाएको पनि उनले बताए । मन्त्री र मन्त्रालय बाँडफाँटका सम्बन्धमा छलफल गरेर अघि बढ्ने पनि उनको भनाइ छ । वर्तमान मुख्यमन्त्री सिंहलाई जनमतले फिर्ता बोलाइसकेको र कारबाहीका लागि सिफारिस गरिसकेकाले थप निर्णय गरी अगाडि बढ्ने नेता यादवले बताए ।