ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलका कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारका विभिन्न पक्षहरूबारे जानकारीमूलक प्रस्तुति दिए । सोही अवसरमा क्यापिटलले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोगस्वरूप डिजिटल बोर्ड हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पौडेलले यस्तो साक्षरता कार्यक्रमले विद्यार्थी र स्थानीय बासिन्दामा पूँजी बजारप्रति आधारभूत ज्ञान र लगानी चेतना बढाउने विश्वास व्यक्त गरे । उनले विद्यालयमा प्रदान गरिएको डिजिटल बोर्डले कक्षाकोठा शिक्षणलाई आधुनिक र आकर्षक बनाउने उल्लेख गरे ।

बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजारबारे प्रारम्भिक ज्ञान दिनुको साथै प्राथमिक बजारमा लगानी गर्न उत्प्रेरित गर्ने बताए । उनले विद्यालयमा प्रविधिमैत्री शिक्षण सामाग्री उपलब्ध गराएकोमा ग्लोबल आइएमई क्यापिटलप्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यमा क्यापिटलले गरेको सहयोगलाई सराहना गर्दै धन्यवाद ज्ञापन गरे । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले क्यापिटलको यो योगदानले शिक्षण–सिकाइलाई आधुनिक र गुणस्तरीय बनाउन टेवा पुर्याउने बताए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय प्रतिनिधि, व्यवसायी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो । ग्लोबल आइएमई क्यापिटलले यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै पूँजी बजारप्रतिको पहुँच र लगानी चेतना अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *