शंकर ग्रुपको जगदम्बा मोबाइलले एकैवर्ष बेच्यो १ अर्ब ७९ करोडको स्मार्टफोन

काठमाडौं । जगदम्बा मोबाइलले करिब एक वर्षमा डेढ अर्बको व्यापार गरेको छ । रियलमी ब्रान्डका स्मार्टफोन नेपालमा बिक्री गर्दै आएको कम्पनीले सन् २०२५ मा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यद्यपि, यो गत वर्ष सन् २०२४ को तुलनामा भने १३.०३ प्रतिशत कमी हो । गत वर्ष कम्पनीले २ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको मोबाइल बिक्री गरेको थियो । नेपालको मोबाइल बजारमा रियलमीको करिब ७ प्रतिशत हिस्सा छ । कम्पनीले भारतबाट चीनमा उत्पादन स्थानान्तरण गरेसँगै आयात व्यवस्थापनमा आएको परिवर्तन व्यापारमा केही कमी आएको जनाएको छ । सन् २०२२ पछि हालसम्म भने कम्पनीले कुले ९ अर्ब ८६ करोड ८० लाख रुपैयाँ बराबरको मोबाइल बिक्री गरेको देखिन्छ ।

तथ्याङ्क सन् २०२२ मा कम्पनीले ३ अर्ब २४ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यता, सन् २०२३ मा पनि कम्पनीले २ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबरको मोबाइल बिक्री गरेको थियो । जगदम्बा मोबाइल सन् २०११ मा स्थापित यो कम्पनी शंकर ग्रुप अन्तर्गतको संस्था हो । जसले चीनको मोबाइल टेलिकम्युनिकेशन कम्पनीद्वारा उत्पादित रियलमी स्मार्टफोन र एक्सेसरी नेपालमा आयात गरी वितरण गर्दै आएको छ । रियलमी मोबाइलका अतिरिक्त कम्पनीले सफारी लगेज र बोल्ट अडियो डिभाइस पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा सुलभ अग्रवालको पूर्ण स्वामित्व रहेको छ । अघिल्ला वर्षहरुमा नाफा कमाए पनि कम्पनीले सन् २०२५ मा नाफा कमाउन नसकेको जनाएको छ । कम्पनीले सन् २०२४ मा ४.२० प्रतिशत र सन् २०२३ मा ५.०४ प्रतिशत नाफा कमाएको थियो । कम्पनीले अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *