काभ्रे उद्योग वाणिज्य संघको ५९ औं स्थापना दिवस, ४३ औं साधारण सभा सम्पन्न
बनेपा । काभ्रे उद्योग बाणिज्य संघको ५९ औ स्थापना दिवस तथा ४३ औं बार्षिक साधारण सभा अध्यक्ष प्रताप बैद्यको अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापना दिवस तथा साधारण सभाको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष प्रताप बैद्यले हलो देखि हाईड्रो सम्म भएका लगानीको सुरक्षा, ब्यवसायीक वातावरण, उद्योगमैत्री नीति, विकास निर्माण तथा नागरिकहरुले खोजेको रोजगारमा नीजि क्षेत्रको लगानी लगायतका विषयमा धारणा राखेका थिए । आफ्नो कार्यकालमा भएका गतिविधिहरु तथा आगामी योजनाका साथै अरनिको राजमार्ग विस्तार, स्थानीय सरकारसँगको हातेमालो तथा तीन तहकै सरकारसँग भएका सहमतिहरुको पालनाका बारेमा धारणा राखेका थिए ।
महासचिव रजित पलाञ्चोकेले संचालन गरेको उक्त कार्यक्रममा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण बैद्य तथा ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्यहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पाँचखालका नगर प्रमुख महेश खरेल, उपप्रमुम विमला सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघ संस्थाका प्रमुख एवं पदाधिकारीहरु, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु, पदाधिकारीहरु, उद्योगी ब्यवसायीको सहभागिता रहेको थियो । अधिकांश बक्ताहरुले हरेक आन्दोलनमा उद्योगी, ब्यवसायीहरु मात्रै तार्गेटमा पर्ने गरेकाले राज्यले सुरक्षा प्रदान नगरे उद्योगी ब्यवसायी पलायन हुने बताए । साधारण सभाले प्रस्तुत गरेका प्रतिवेदनहरु उपर छलफल गरी पास गरेको छ ।
















