पुष्पकमल दाहाल नेतृत्वको नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । कार्त्तिक १९ गते विभिन्न १० वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । नवगठित पार्टीले सोही दिन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । यही प्रक्रिया विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्त्तिक २६ गते आयोगमा उजुरी दिएका हुन् । उनी नेतृत्वको दल पहिले नै नेकपा नाममा दर्ता भइसकेकोले सोही नाम प्रयोग गर्दै नवगठित दलले पनि उस्तै नाम तथा छोटकरी अपनाएको दाबी उजुरीमा गरिएको छ ।
सुवेदीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६ को ख उद्धृत गर्दै नाम र संक्षिप्त रूप मिल्ने भएकाले मतदातामा भ्रम सिर्जना हुने तथा दलको स्पष्ट पहिचान नदेखिने भन्दै नवगठित दल दर्ता नगर्न आयोगलाई अनुरोध गरेका छन् । उजुरीमा भनिएको छ, ‘नाममा सामान्य मात्रको हेरफेर गरेर वा बाई मात्राको प्रयोग गरेर पहिचान छुट्टिन्छ भन्ने दाबी अस्वाभाविक छ, किनकि छोटकरीमा नेकपा र अंग्रेजीमा सीपीएन दुवै पक्षमा उस्तै रूपमा प्रयोग हुन्छ जसले भ्रम पैदा गर्छ ।’ नेपालको संविधान २०७२ को धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ का दफा ३ र ५ अनुसार सुवेदी नेतृत्वको दल निर्वाचन आयोगमा विधिवत् दर्ता भइसकेको हुँदा उस्तै नाम वा संक्षिप्त नाम प्रयोग गर्ने अर्को दल दर्ता गर्नु कानुनविपरीत हुने समेत उजुरीमा उल्लेख गरिएको छ ।

















