प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन
काठमाडौं । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनविरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत देशभरका जिल्ला तथा विभिन्न सहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो । यसैक्रममा एमाले रुपन्देहीले बुटवलमा बृहत् जनप्रदर्शन र सभा गर्यो । प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षा तथा युवापुस्ता – विशेष गरी ‘जेनजी’का माग पूरा गर्ने कार्यमा आफ्नो पार्टी सक्षम रहेको दाबी गरिएको प्रदर्शनसहितको र्याली चौराहाबाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अबहेलनासहित शासन गरिरहेको आरोप लगाए । आउँदो मंसिर ६ गते काठमाडौंमा प्रदर्शनसहित जनसभा गरेर जनपरिचालन कार्यक्रम समापन गरिने एमालेले जनाएको छ ।
















