प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो ।
हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । अदालतको अवहेलना निवेदन दर्ता भएको र निवेदनको पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय गर्न माग गरिएको छ । सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो ।
















