क्यासिनोलाई १२ बुँदे निर्देशन जारी
काठमाडौं । २४ वटा क्यासिनोहरूलाई सरकारले १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सोमबार सबै क्यासिनोहरुलाई जारी गरेको उक्त निर्देशनमा सबै खेलाडीहरुको वायोमेट्रिक सुरक्षित राख्नुपर्ने र विभागले मागेको समयमा उपलब्ध गराउनुपर्नेदेखि आकस्मिक लाभकरको प्रमाणपत्र तुरुन्तै जारी गरेर आन्तरिक राजस्व विभागमा जानकारी दिनुपर्ने छ । निर्देशनमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन, २०८२ को पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख नेपाल राष्ट्र बैंकबाट विदेशी परिवर्त्य मुद्रा कारोबारको इजाजत नलिई विदेशी मुद्रा कारोबार गर्न नहुने, क्यासिनो नियमावली, २०८२ र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा पर्यटन विभागबाट क्यासिनो व्यवसायी (सूचक संस्था) लाई जारी गरेको (पहिलो संशोधनसमेत) निर्देशन २०८२ बमोजिमको विवरण नियमित रुपमा विभागमा पेश गर्नुपर्ने छ । क्यासिनो खेलाडीको ग्राहक पहिचान प्रणाली, बायोमेट्री विवरणहरू तोके अनुरूप अध्यावधिक गरी यस विभागले माग गरेको अवस्थामा उपलब्ध गराउने, क्यासिनो स्थलमा हुने सबै गतिविधि रेकर्ड गर्ने गरी सीसीटीभी क्यामेराको अभिलेख कम्तिमा छ महिना सुरक्षित राख्नु पर्ने छ ।
तेस्रो पक्षसँग सम्झौता गरी वा अन्य कुनै तरिका (सब कन्ट्र्याक्ट) बाट क्यासिनो सञ्चालन गर्न नपाइने, इजाजत दिएको स्थानमा बाहेक अन्य कुनै पनि स्थानमा क्यासिनो सञ्चालन गर्न पूर्णरुपमा प्रतिवन्ध हुने छ । इजाजतपत्र प्राप्त कम्पनीले कुनै खेलाडीलाई क्यासिनोबाट जितेको रकम भुक्तानी गर्नु अघि त्यस्तो खेलाडीले जितेको रकमबाट प्रचलित कानुन बमोजिम तत्काल आकस्मिक लाभ कर अग्रीम रुपमा कट्टी सोही दिन गर्नुपर्ने छ । आकस्मिक लाभ कर कट्टी गरेपछि इजाजतपत्र प्राप्त कम्पनीले खेलाडीलाई आकस्मिक लाभ कर कट्टी गरेको प्रमाणपत्र दिई त्यसको विवरण तत्काल सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाउनुपर्ने र सोको जानकारी यस विभागमा दिनुपर्ने छ । इन्टरनेटमा आधारित वा अनलाइन माध्यमवाट कुनै पनि खेल खेलाउन प्रतिबन्ध हुने, क्यासिनो तथा होटल परिसर भित्र तथा बाहिर पर्याप्त सुरक्षाको प्रत्याभुति, कानुन बमोजिम स्थानीय सुरक्षा निकायहरुका निर्देशनहरुको पूर्ण परिपालना गर्नुपर्ने र नेपाल ग्रे लिष्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण, २०८२ बमोजिम जोखिमको आधारमा क्यासिनो अनुगमन गर्दा दुरूस्त नपाइएमा तत्काल कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइने निर्देशनमा उल्लेख छ ।
















