बुटवलमा रवि र छविको सुनवाइ स्थगित
उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार (मंसिर ४) हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी (तत्कालीन गोरखा मिडियाका सञ्चालक) छविलाल जोशीको सुनुवाइ स्थगन गरिएको छ । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दामा आजलाई पेसी तोकिएको थियो । तर, रवि र छविका पक्षबाट बहस गर्ने अधिवक्ताहरू नआइपुग्दा निवेदकले नै स्थगन मागेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यस दिन उच्च अदालत पाटनमा पनि सहकारीसम्बन्धी मुद्दाको पेसी भएको र अधिवक्ताहरू त्यसतर्फ पुगेकाले यहाँ सुनुवाइ रोकिएको हो । निवेदककै आग्रहमा सुनवाइ रोकिएको रास्वपाका नेता शिव डुम्रेले जानकारी दिए । सर्वोच्च अदालतबाट मगाइएको मिसिल प्राप्त भएपछि आज बुटवलका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । अदालतले रवि र छविको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिएको थियो । गएको हप्ता मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो । बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न रविले माग गरेकामा उच्च अदालतले उनीसँगै छविको पनि फाइल पेस गर्न आदेश दिएको थियो ।
रविको मुद्दामा यसअघि उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो । रवि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका निम्ति थुनामा छन् । उनले सहकारीमा अपचलित आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो । सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । रविले त्यसको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । उनले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । रविले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरिएको थियो । रवि हाल ललितपुरको नक्खु कारागारमा छन् । छवि भैरहवा कारागारमै छन् ।















