स्टार्टअप कर्जामा उद्यमीको आकर्षण बढ्यो
काठमाण्डौं । स्टार्टअप उद्यम कर्जाप्रति उद्यमीहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८२।८३ मा स्टार्टअप कर्जाका लागि १० हजार २४४ उद्योगीले आवेदन दिएको औद्योगिक व्यवसाय प्रतिष्ठानले जानकारी दिएको छ। प्रतिष्ठानले कात्तिक १९ गते २१ दिने सूचना सार्वजनिक गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो। कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार गत वर्षको तुलनामा यस वर्ष दोब्बर बढी प्रस्ताव परेको छ। यस वर्ष बजेट सीमित भएकाले चार सयदेखि ५५० उद्यमीलाई मात्र कर्जा उपलब्ध गराउने लक्ष्य राखिएको छ, गुप्ताले जानकारी दिए। छनोटमा परेका उद्यमीलाई बिनाधितो तीन प्रतिशत ब्याजदरमा पाँच लाखदेखि २० लाख रूपैयाँसम्म कर्जा उपलब्ध गराइने छ।
प्रतिष्ठानमा प्रत्यक्ष रूपमा २ हजार ४१ जनाले र अनलाइनमार्फत ८ हजार २०३ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका छन्। सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जामा ७३ करोड रूपैयाँ विनियोजन गरेको छ। सो रकममध्ये तीन प्रतिशत प्रशासनिक खर्च कटाएर बाँकी पूँजी कर्जा वितरणमा प्रयोग गरिने प्रतिष्ठानले जनाएको छ। यसअघि प्रतिष्ठानले न्यूनतम पाँच लाखदेखि अधिकतम २५ लाख रूपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएकोमा, यो वर्ष कार्यविधि संशोधन गर्दै अधिकतम सीमा २० लाख रूपैयाँमा झारिएको छ। गत आर्थिक वर्ष २०८१।८२ मा प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रूपैयाँ स्टार्टअप कर्जा प्रवाह गरेको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०।८१ मा १६५ उद्यमीले २१ करोड रूपैयाँ कर्जा पाएका थिए।
















