कामना सेवा विकास बैंकलाई लगातार दोस्रो पटक साफा अवार्ड

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले लगातार दोस्रो वर्ष “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड” हासिल गर्दै वित्तीय पारदर्शिता र संस्थागत सुशासनमा आफ्नो मजबुत उपस्थिति पुष्टि गरेको छ। बैंकलाई वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड–२०२४” बाट सम्मानित गरिएको हो। साफाले आर्थिक वर्ष २०२३।२४ को वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा दक्षिण एसियाली देशका वित्तीय संस्थाहरूलाई पारदर्शिता, जवाफदेहिता, सूचनाको स्पष्टता र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रिपोर्टिङ उत्कृष्टताको आधारमा अवार्ड प्रदान गर्छ।

कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिक साधारणसभामा पेश गर्न तयार पारेको प्रतिवेदनलाई बिशेष रूपमा उत्कृष्ट प्रस्तुति, तथ्यका स्पष्टता र लगानीकर्तामैत्री सूचनाका कारण उच्च अंक प्रदान गरिएको बताइएको छ। अवार्ड पाकिस्तानको इस्लामाबादमा आयोजित समारोहमार्फत बैंकलाई प्रदान गरिएको हो। बैंकले गत वर्ष पनि यही विधामा अवार्ड जित्दै निरन्तर उत्कृष्टता कायम राखेको थियो। साफा, इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (IFAC) को क्षेत्रीय साझेदारका रूपमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तानसहित ११ देशका चार्टर्ड एकाउन्टेन्ट संस्थाहरूको साझा संस्थान हो। संस्थाले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रका प्रतिवेदनहरू मूल्यांकन गरी उत्कृष्टताको आधारमा विभिन्न श्रेणीमा अवार्ड प्रदान गर्दै आएको छ। कामना सेवा विकास बैंकले तयार पारेको यही वित्तीय प्रतिवेदन यसअघि चार्टर्ड एकाउन्टेन्ट्स एशोसिएसन अफ नेपाल (ICAN) बाट प्रदान गरिने “राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड–२०२४” मा वित्तीय सेवा क्षेत्रतर्फको “गोल्ड अवार्ड” समेत प्राप्त गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *