एमालेभित्र ओली विरोधी गठबन्धन
काठमाण्डौं । भदौ २४ गतेको महाविनाशपछि चौतर्फी आक्रमणको निशाना बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ गते हुने भनिएको आम निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गरेको छ । एकातिर आयोगमा दल दर्ता गरेको छ भने अर्कोतिर सर्वोच्च अदालतमा संसद् पुनः स्थापनाको रिट पनि सोही मितिमा दर्ता गरेको छ । २३ र २४ भदौको घटनाका बेला एमाले अध्यक्ष नै प्रधानमन्त्री रहेको र अध्यक्ष ओलीको कटु बोलीका कारण जेन्जी भनिएको विध्वंसकारी जत्था मात्र होइन त्यसको पृष्ठभूमिमा रहेर गुप्त रूपले गतिविधि सञ्चालन गरिरहेका प्रचण्डको माओवादी केन्द्र,रवि लामिछानेको रास्वपा र राजेन्द्र लिङदेनको राप्रपाको पनि मुख्य केन्द्र ओली नै रहँदै आएका छन् । विवादास्पद अभिव्यक्ति र भूमिकाका कारण सधैँ चर्चामा रहने गरेका ओली अहिले विपक्षीको मात्र आक्रमणको निशानामा छैनन् बरु एमालेभित्रै उनलाई एक्लाउन अनेक प्रपञ्च भइरहेको छ । गत भदौको तेस्रो हप्तामा ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनकै सेरोफेरोदेखि उनीमाथि पार्टीभित्रबाटै घातक हमला सुरु भएको हो । त्यो हमलामा एमालेलाई आफ्नो पारिवारिक सम्पत्ति ठान्ने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नै अग्रसरता देखाएकी थिइन् । ओलीलाई एमाले नेतृत्वबाट विस्थापित गरेर आफू स्थापित हुन भण्डारीले अनेक प्रकारले कोसिस गरिन् तर ओलीले उनको नवीकरण भइसकेको सदस्यतालाई समेत तामेलीमा राखी दिएपछि त्यसमा उनको केही लागेन । जेनजी आक्रमण अघि देखि नै पार्टीभित्र र बाहिरबाट लगातार भएको आक्रमणलाई झेल्दै आएका ओली प्रधानमन्त्रीको पद त्याग गरेको साढे दुई महिनामा सबैभन्दा बढी ‘आक्रमण’को सामना गर्ने नेतामा परेका छन् । ‘जेनजी’ विध्वंस कालमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवा जतिकै आक्रमणको सामना गर्नुपरेको थियो तर अहिले ती दुई नेतामाथिको आक्रमण मत्थर भएका छ । ओलीमाथि भने पहिलेभन्दा पनि कठोर आक्रमण हुन थालेको छ । यस्तो प्रतिकूल परिस्थितिमा एमालेले यही मङ्सिर २७ गते देखि राजधानीमा पार्टीको महाधिवेशन बोलाएको छ । सो महाधिवेशनले पार्टीको आगामी नेतृत्व चयन समेत गर्नेछ । अहिले एमाले महाधिवेशनका लागि नेतृत्व कसले लिने भन्ने बहस सुरु भएको छ । जेनजीको नाममा खडा गरिएको सन्त्रास पछि एमाले मात्र यस्तो दलको रूपमा अगाडि आयो जसले चौतर्फी आक्रमणलाई चिर्दै पार्टीका कार्यक्रमहरू गाउँसम्म जारी राख्यो । पार्टी अध्यक्ष ओलीलाई स्थान हद तोकिएर राजनीतिक गतिविधिबाट खुम्च्याउने षड्यन्त्रलाई निष्फल पार्दै एमालेले विगत साढे दुई महिनामा देशभरि लगातार कार्यक्रमहरू गरिरहेको छ । ओली नेतृत्वको संस्थापन पक्ष पार्टी गतिविधिमा सक्रिय रहेकै बेला ओलीलाई असफल पार्न खोज्ने पार्टीभित्रका ओली विरोधी नेताहरू भने एकोहोरो ओलीको विरुद्ध प्रलाप गर्न व्यस्त रहे । यही महिनाको अन्त्यमा हुने महाधिवेशनमा ओली पुनः पार्टी अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन् । उनले सोही प्रयोजनका लागि गत भदौ मै विधानमा रहेको अवरोध हटाइसकेका छन् । एमाले विधानमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कुनै पनि कार्यकारी पदमा निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने र ७० वर्षभन्दा बढी उमेरको व्यक्तिले मुख्य नेतृत्वमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको थियो । ओली उमेरले ७० वर्ष नाघिसकेका छन् र दुई कार्यकाल पार्टीको अध्यक्ष समेत रही सकेका छन् । त्यसरी हेर्दा ओली पार्टी अध्यक्षको तेस्रो कार्यकालका लागि प्रतिस्पर्धी नै रहने अवस्था थिएन तर उनले गत विधान अधिवेशनबाट विधानमा संशोधन गरी ७० वर्षे उमेर हद र दुई कार्यकालको बन्देज हटाइसकेका छन् । अब ओलीलाई तेस्रो कार्यकालमा अध्यक्ष बन्न विधान बाधक छैन तर, पार्टीभित्र भने ओली लगातार अलोकप्रिय बन्दै गइरहेका छन् । पार्टी नेतृत्व पङ्क्तिमा उनका विरोधीको सङ्ख्या बढ्दै छ । पार्टी पङ्क्तिभित्र पनि उनको निर्विकल्पको छवि बिग्रँदै गएको छ । अघिल्लो निर्वाचनमा निर्विरोध अध्यक्ष बन्न र सम्पूर्ण केन्द्रीय कमिटीलाई निर्विरोध गराउन गरेको प्रयास असफल भएपछि नाम मात्रकै भए पनि चुनावै लड्नु परेको थियो । यस पटक पनि निर्विरोध बन्न अनेक कोसिस गर्नेछन् तर वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले अहिले नै अध्यक्षको उम्मेदवारीको घोषणा गरिसकेकाले उनको निर्विरोध बन्ने चाहनामा मात्र तुसारापात मात्र भएको छैन । बरु पोखरेलसँग कडा टक्कर पर्ने निश्चित छ । पोखरेल विगतमा भ्रष्ट र टस्करहरुसँग साँठगाँठ रहेको भनेर बदनाम थिए । पानी ट्याङ्कीमा पैसा लुकाएको भनेर त उनी नराम्ररी बदनाम गरिएका थिए । उनका ससुरा कुनै बेला त्रिभुवन विमानस्थलमा लागू औषधसहित गिरफ्तार भएका थिए र पोखरेलले नै उनलाई छुटाएका थिए । यी बाहेक पार्टी पङ्क्ति र पार्टीबाहिर पनि पोखरेलको छवि कञ्चन छैन । बदनाम व्यक्तिको रूपमा रहेका पोखरेल प्रतिस्पर्धी भएकाले ओलीलाई जित्न सहज हुने अनुमान गर्न सकिए पनि विद्या भण्डारीसमेत धेरै नेताहरू उनको विपक्षमा रहेकाले चुनाव जित्न सहज भने छैन । अहिले एमालेमा ओलीलाई टक्कर दिने हैसियतका नेता नभएकै कारण राष्ट्रपति भइसकेकी र मदन भण्डारीकी बिधुवा विद्यादेवी भण्डारीलाई अघि सारिएको थियो । तर, ओलीले भण्डारीको सदस्यता ‘होल्ड’ गराइदिएपछि उनी त्यो अवसरबाट स्वतः वञ्चित भइन् ।
भण्डारी अध्यक्ष उठ्न नपाउने स्थितिमा वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेमध्ये एक जनाले ओलीलाई चुनौती दिनुपर्ने थियो । पाण्डे पार्टीमा पुस्ताको हिसाबले पछिल्लो पुस्ताका मानिन्छन् । पोखरेल भने झापाली मालेमा पहिलो पुस्ताकै नेता हुन् । संस्थापक महासचिव सिपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, गोविन्द न्यौपाने, माधव नेपाल, झालनाथ खनाल, मुकुन्द न्यौपाने, बामदेव गौतम, जीवराज आश्रित, मदन भण्डारीकै पुस्ताका पोखरेल अवसरबाट वञ्चित गराइएका नेता हुन् । यदि उनको छवि स्वच्छ भएको भए ओलीलाई उनले राम्रै टक्कर दिन सक्ने थिए । ओलीलाई भ्रष्ट, अहंमकारी र कटु बोल्ने नेता भनेर जुन आरोप लगाइन्छ त्यो भन्दा कैयौँ गुणा खराब छन् पोखरेल । छविकै हिसाबले पनि ओलीभन्दा बदनाम र सङ्गठनमा पकडको हिसाबले झन्डै शून्यको स्थितिमा रहेका पोखरेलले चुनाव जित्न पार्टीभित्रको ओली विरोधी जनमत र उनका सहयोगीले जुटाइदिएको भोटमा नै निर्भर रहनुपर्छ । यसरी हेर्दा अहिले पनि एमालेमा ओली नै निर्विकल्प नेताको रूपमा देखिन्छन् । यति सिपी देखि माधव–झालनाथसम्म एमालेमै रहेका भए चाहिँ ओलीको साँच्चै प्रतिस्पर्धा हुने स्थिति बन्थ्यो । अहिले त ‘रियल क्याण्डिडेट’ र पोखरेल चाहिँ ‘डमी क्याण्डिडेट’ जस्तो स्थिति देखिन्छ । एमालेलाई चलायमान बनाउने र नेतृत्व दिन सक्ने एउटै मात्र नेताको रूपमा ओली देखा पर्नुले उनको निर्वाचन जित्न सक्ने सम्भावना निकै बलियो छ । पोखरेलले पाउने भनेको मत त ओलीसँग असन्तुष्ट, रुष्ट र चिढिएकाहरूको मात्र हो । उनको पार्टीभित्र आफ्नै भोट त अत्यन्तै न्यून छ । यस्तो स्थितिमा ओलीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत पोखरेलको देखिँदैन । झन् प्रतिकूल परिस्थितिमा पार्टीलाई नेतृत्व दिन सक्ने क्षमता र व्यक्तित्व दुवै पोखरेलमा नहुनु र ओलीले त्यस्तो गर्न सक्छन् भन्ने विश्वास कार्यकर्तामा रहनुले पनि एमाले महाधिवेशनले ओलीलाई नै नेता छान्ने सम्भावना प्रबल देखिन्छ ।















