सिटिजन्स बैंक र आरएसडिसी लघुवित्तको साधारणसभा आज
काठमाडौं । आज मंसिर १२ गते सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड र आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ। दुवै कम्पनीले लाभांश लगायतका प्रस्तावहरू पारित गर्न साधारणसभा बस्न लागेका हुन्। सिटिजन्स बैंकको १९औं वार्षिक साधारणसभा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश कर तिर्न वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्ष आव को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ का संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।
त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ। सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यता आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारणसभा रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रा.लि. मा बिहान साढे ९ बजेदेखि शुरु हुँदैछ। सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ।















