नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा यस कम्पनीले भने गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो। उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको असार मसान्तसम्म १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो। कम्पनीले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब १३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
अघिल्लो आवको अन्त्यसम्म ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत आवको अन्त्यसम्म भने कम्पनीले ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यसैगरी समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ११ अर्ब २८ करोड ५१ लाख रुपैयाँबाट बढेर १२ अर्ब ९० करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ९ अर्ब ६६ करोड ८४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा ९३ करोड ३७ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ८.४३ रुपैयाँबाट घटेर ७.७१ रुपैयाँमा झर्दा प्रतिशेयर नेटवर्थ १५२.९४ रुपैयाँमा कायम भएको छ।
















