व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न–नगराउन सहकारीहरुलाई चेतावनी
काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरूलाई व्यावसायिक कारोबार व्यक्तिगत खातामार्फत नगर्न–नगराउन स्पष्ट निर्देशन दिएको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ ले सहकारीलाई वित्तीय संस्थाको रूपमा परिभाषित गरेअनुसार, सहकारी संस्थाहरूले कानुनी व्यक्ति वा कानुनी प्रबन्धसँग सम्बन्धित रकम व्यक्तिगत खातामा जमामा गरेको वा भुक्तानी गरेको पाइएमा सो जानकारी अनिवार्य रूपमा प्रतिवेदन गर्नुपर्ने व्यवस्था छ। सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम १० तथा आयकर ऐन, २०५८ को दफा ८१ ‘क’ को प्रावधानअनुसार सहकारी संस्थाहरूलाई व्यक्तिगत खातालाई व्यावसायिक कारोबारको माध्यम नबनाउन विभागले सूचना जारी गरेको हो।
नियमावली १० का अनुसार, कुनै कानुनी व्यक्ति वा व्यवस्थापन इकाईले आफ्नो नाममा खोलिएको खाताबाहेक अन्य व्यक्तिगत खातामा व्यावसायिक कारोबारसम्बन्धी रकम लिने–दिने गरेमा वा व्यक्तिगत बचत खाता व्यावसायिक कारोबारका लागि प्रयोग गरिएको भेटिएमा, सहकारीसहितका वित्तीय संस्थाले तुरुन्तै वित्तीय जानकारी इकाई र आन्तरिक राजस्व विभागलाई प्रतिवेदन गर्नुपर्ने हुन्छ। त्यस्तै, आयकर ऐनको दफा ८१ ‘क’ ले व्यावसायिक कारोबारबाट प्राप्त नगद, चेक, क्युआर कोड वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त भुक्तानी व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। यी कानुनी प्रावधानहरूको कार्यान्वयन गर्दै सहकारी संस्थाहरूलाई आफ्नो कारोबार प्रणाली पारदर्शी राख्न र व्यक्तिगत खातामार्फत हुने गतिविधि रोक्न सरकार पक्षबाट कडाई गरिएको जनाएको छ।
















