१५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू १५औँ महाधिवेशनमा सभापति पदका लागि उमेदवार रहेको बताएका छन् । पार्टीले १५औँ महाधिवेशनका लागि कार्यतालिका ल्याउने सर्वसम्मत निर्णयमा अतिरिक्त धारणा भन्दै फरक मत राखेका थापाले पार्टी सभापतिको लागि उमेदवारी दिने बताएका हुन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्ता यक्ष प्रश्नमा थापाले आफू उमेदवार हुनेमा कुनै शंका नरहेको बताए । म १५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ, थापाले भनेका छन्, मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वको जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।
नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन भएमा यसलाई १५औँ महाधिवेशन मानिँदैन । विशेष आवश्यकताको परिपूर्तिका लागि मात्र विशेष महाधिवेशन हुने व्यवस्था कांग्रेस विधानमा छ । यसअघि पनि पटक पटक सभापतिको उमेदवार हो वा होइन भनेर प्रश्न आए पनि आफूले मिति नै घोषणा नभएकाले आफ्नो उमेदवारीबारे बोल्ने समय नभएको भन्ने गरेको बताएका थिए । अब १५औँ महाधिवेशनको तिथिमिति आइसकेपछि म सभापतिको उम्मेदवार हो ।
















