कांग्रेसले माग्यो क्रियाशील सदस्यताबारे भ्रातृ तथा शुभेच्छुक संस्थासँग सुझाव

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणबारे पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँग सुझाव मागेको छ । महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्दै सुझाव मागेको हो । समितिका सदस्य कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सानेपामा भ्रातृ तथा शुभेच्छुक नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, दलित संघ, थारु संघका अध्यक्ष तथा महिला संघ र मुस्लिम संघका प्रतिनिधिसँग सुझाव मागिएको जानकारी दिए । पार्टीको क्रियाशील सदस्यमा महिला, जनजाति, दलित, थारु, मुस्लिम र युवाहरूको सहभागिता बढाउने विषयमा छलफल भएको चौधरीले बताए ।

‘क्रियाशील सदस्यताको संख्या बढाउन आ–आफ्नो तर्फबाट लाग्न भन्यौँ, चौधरीले रातोपाटीसँग भने, ‘संस्थाको सम्पूर्ण सम्यन्त्र पार्टीको क्रियाशील सदस्य बढाउन परिचालन गर्न भन्यौँ । उहाँहरूले गाँउ गाँउ टोलटोलमा पुगेर बढाउन प्रयास गर्ने बताउनुभएको छ । बैठकमा सुझाव लिने र दिने काम भएको चौधरीको भनाइ छ । कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट गरेको छ । घोषित मितिमा महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता कसरी बढाउने भनेर महामन्त्री थापा नेतृत्वको समितिले पार्टीका भ्रातृसंस्था र शुभेच्छुक संस्थाका प्रतिनिधिसँग छलफल गरेको हो । समितिमा पार्टी केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सिता गुरुङ र चौधरी सदस्य छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *