सिद्धार्थ बैंकको‘भर्चुअल क्रेडिट कार्ड, ५० प्रतिशत क्यासब्याक अफर
काठमाडौं । सिद्धार्थ बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो । नयाँ भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै देशभरका १८ लाखभन्दा बढी व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्कसहित भुक्तानी गर्न सक्नेछन् । डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकता ध्यानमा राखी ल्याइएको यो कार्ड तुरुन्त सक्रियता, कार्ड नियन्त्रण तथा उच्च सुरक्षा सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
ग्राहकले मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै कार्ड आवेदन, कार्ड प्राप्ति र सक्रियता गर्न सक्नेछन् । साथै एपबाटै सीमा व्यवस्थापन, कार्ड लक–अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी तथा अन्य आवश्यक व्यवस्थापनकार्य सरल रूपमा गर्न सकिने बैंकको भनाइ छ । विशेष लन्च अफरअन्तर्गत, सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक पाउने व्यवस्था गरिएको छ । यो क्यासब्याक अधिकतम ७५० सम्म सीमित हुनेछ, जसले सदस्यता शुल्क समायोजन गर्ने सुविधा पनि प्रदान गर्छ । अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म सीमित अवधिका लागि लागू हुनेछ । यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयरमा विभिन्न माध्यममार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।















