मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गर्ने
विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रदेशका स्वदेशी उत्पादन सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धनका लागि विराट ट्रेड एक्स्पो २०२५ गर्ने तयारी गरेको छ । पुस ९ देखि १९ गतेसम्म विराटनगरमा सञ्चालन हुने विराट ट्रेड एक्स्पोमा अन्तर्राष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ । एक्स्पोका संयोजक एवं संघका सचिव अमितकुमार सारडाका अनुसार एक्स्पो सञ्चालनमा करिब अढाई करोड खर्च हुने र करिब ३० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। मोरङ उद्योग व्यापार संघले यसअघि मुलुकको आर्थिक क्षेत्रमा गतिविधिको सम्बर्द्धन एवं विकासका लागि कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०७५, विराट ट्रेड एक्स्पो २०७८, मोरङ व्यापार संघ एक्स्पो २०२३ लगायतका कार्यक्रम आयोजना गरिसकेको छ। मोरङ–सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनःप्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिने यसपटकको मेलामा जर्मन प्रविधिको ह्याङ्गर, अक्टानमसहित करिब २३० स्टलमार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनीका साथै छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरूको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराइने संघका अध्यक्ष अनुपम राठीले सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। यो एक्स्पोले नयाँ र विद्यमान उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न, स्वदेशी र विदेशी उत्पादनहरू प्रदर्शन गर्न, बिक्री गर्न र व्यापार र लगानीको सम्भावनाहरू बारे छलफल गर्ने उत्कृष्ट थलो हुनुका साथै उत्पादक तथा वितरकहरूलाई आफ्ना उत्पादन र सेवाहरूको प्रदर्शनी एवं देश र विदेशमा आफ्नो बजार विस्तार तथा विविधीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको राठीको भनाइ थियो।
एक्स्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय व्याण्ड कुमा सागर, रकहेड्स, एलिमेन्ट्स, कुटुम्ब, स्वप्न सुमन, उज्जेन शाक्य आदिबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामग्रीहरू, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी टनेल आदि राखिने छन्। साथै मुख्य आकर्षणका रूपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ। यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब दुई लाख दर्शकको आगमन हुने अपेक्षा लिएको छौँ। यो एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई समेत प्रवर्द्धन गर्ने लक्ष्य लिएको संयोजक सारडाको भनाइ थियो। वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य मोरङ उद्योग व्यापार संघ वि।सं। २००७ सालमा स्थापना भएदेखि नै मुलुकको आर्थिक र सामाजिक मामिलामा अग्रणी भूमिका खेल्दै आएको छ । यस संस्थाको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने र उच्च मनोबलका साथ आर्थिक क्रियाकलापमा विविधीकरण गरी अधिकार, हित र व्यावसायिक मर्यादाका लागि स्वतन्त्र र स्वाभिमानी अर्थतन्त्रको निर्माण गरी उद्योग,व्यवसायीहरूको हक हितको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ । यसका साथै संघले देशमा हुने प्राकृतिक प्रकोप, खेलकुद, साहित्यिक, धार्मिक, सामाजिक र मानवीय कार्यमा आर्थिक सहयोग गर्दै आएको छ भने विभिन्न सरकारी, सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
यस्तै, मुलुकको आर्थिक मेरुदण्ड उद्योग,व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास तथा प्रवर्द्धनका लागि निरन्तर प्रयासरत यस संघले प्रदेशका स्वदेशी उत्पादनहरू सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य लिई समय–समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको छ। जेन्जी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योगरव्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरू सहित अन्तरप्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रियरअन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरू बीच व्यवसायिक सम्बन्ध र सहकार्य स्थापना, यस प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार लगायत कयौँ प्रवर्द्धनात्मक कार्यहरू गराउने प्रमुख उद्देश्य सहित औद्योगिक,व्यवसायिक क्षेत्रको विकास एवं प्रवर्द्धनार्थ विशेष सहयोग पुर्याउने अभिप्रायले संघले यस वर्ष पनि यो ट्रेड एक्स्पोको आयोजना गर्ने तयारी गरेको संयोजक सारडाले बताए।
















