अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
काठमाडौं । अस्ट्रेलियाले आजदेखि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि पूर्ण प्रतिबन्ध लागु गर्दै छ । अस्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा रोक लगाउने विश्वको पहिलो देश बनेको छ । आज देखि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक, युट्युब, इन्स्टाग्राम र फेसबुकजस्ता साइटहरू खोल्न दिने छैन । सरकारले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई लिएर यो कदम चालेको बताएको छ । यो नियम उल्लंघन गर्ने कम्पनीहरूलाई ठूलो परिमाणमा जरिबाना तिर्नुपर्ने सरकारले बताएको छ । नोभेम्बर २०२४ मा पारित कानुनको उल्लंघन गर्ने कम्पनीहरूलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्मको जरिबाना लगाउन सकिन्छ । बालबालिकाको अनलाइन सुरक्षालाई लिएर अन्य धेरै देश पनि यस्तै उपायहरूमाथि गम्भीरतापूर्वक विचार गरिरहेका छन् ।
अमेरिकामा के छ
अमेरिकामा लागु भएको एक कानुनले कम्पनीहरूलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको सहमतिबिना सामाजिक सञ्जाल प्रयोग गर्नबाट रोकेको छ । धेरै अमेरिकी राज्यहरूले सामाजिक सञ्जाल चलाउनका लागि माता–पिताको अनिवार्य सहमति लिन कानुन बनाएका छन् । तर, त्यहाँ उनीहरूले अभिव्यक्तिको स्वतन्त्रताको अधिकारका कारण कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ ।
युरोपमा के छ कानुन ?
युरोपेली संसद्ले नोभेम्बरमा एक प्रस्ताव पारित गर्यो, जसमा सामाजिक सञ्जालमा न्यूनतम उमेर सीमा १६ वर्ष गर्ने सिफारिस गरिएको छ । पूरै ईयूमा १३ वर्षको डिजिटल आयु सीमा र भिडियो–सेयरिङ सेवाहरू तथा एआई प्रयोगमा १३ वर्षको सीमा तय गर्ने तयारी गरिएको छ ।
ब्रिटेन
२०२३ मा पारित ‘अनलाइन सेफ्टी एक्ट’ले सामाजिक सञ्जाल कम्पनीहरूमाथि कडाइ बढाएको छ । यसपछि हानिकारक सामग्रीबाट नाबालकहरूलाई बचाउन कम्पनीहरूलाई उमेरमा आधारित उपायहरू अबलम्बन गरिएको छ । यद्यपि, सामाजिक सञ्जालको प्रयोगका लागि ब्रिटेनमा अहिले कुनै उमेरको सीमा निर्धारित गरिएको छैन ।
जर्मनीमा थप कडाइको आवश्यकता
हाल जर्मनीमा १३ देखि १६ वर्षका किशोरकिशोरीहरूले सामाजिक सञ्जालको प्रयोग तब मात्र गर्न सक्छन्, जब उनीहरूका माता–पिताले सहमति दिन्छन् । तर, धेरै विज्ञहरूको भनाइमा जर्मनीमा हालको नियन्त्रण पर्याप्त छैन ।
डेनमार्क
डेनमार्कले यसै वर्ष नोभेम्बरमा त्यहाँ १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्ने घोषणा गरेको छ । १३ वर्षसम्मका बालबालिकालाई अभिभावकले अनुमति दिन सक्छन् । यसलाई संसद्को समर्थन मिलिसकेको छ ।
इटाली
इटालीमा १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाताका लागि अभिभावकको अनुमति चाहिन्छ । १४ वर्षपछि सहमति आवश्यक छैन ।
चीन
चीनमा ‘माइनर मोड’ प्रणाली लागु छ । यस अन्तर्गत उमेरको आधारमा स्क्रिन टाइम सीमित गर्नका लागि डिभाइसहरू र एपहरूमा पनि खास किसिमका नियन्त्रणका विकल्पहरू रहेका छन् ।
मलेसियामा पनि कडाइ
मलेसियाले नोभेम्बरमा सन् २०२६ देखि १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
फ्रान्स
फ्रान्सले सन् २०२३ मा एक कानुन पारित गर्यो जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खाता बनाउनका लागि अभिभावकको सहमति लिन जरुरी छ । तर, हाल प्राविधिक जटिलताहरूको कारणले यसलाई लागु गर्नमा कठिनाइ आइरहेको छ ।
नर्वेको नियम
नर्वेमा सन् २०२४ मा सामाजिक सञ्जाल प्रयोग गर्ने न्यूनतम उमेर १३ बाट बढाएर १५ वर्ष गरियोस् भन्ने प्रस्ताव पारित भइसकेको छ । जसअनुसार १५ वर्षभन्दा कम उमेरका बालबालिकाले अभिभावकसँग अनुमति लिनुपर्नेछ । सरकार अहिले १५ वर्षको न्यूनतम आयु सीमालाई अनिवार्य बनाउने कानुन तयार गरिरहेको छ ।
टेक कम्पनीहरूका आफ्नै नियम
टिकटक, फेसबुक र स्न्यापच्याटजस्ता प्लेटफर्महरू आफैँमा कम्तीमा १३ वर्षका प्रयोगकर्ता चाहन्छन् । तर, विज्ञहरूको भनाइमा यी प्लेटफर्महरूमा यसलाई कडाइका साथ लागु गरिएको छैन । धेरै युरोपेली देशहरूका आधिकारिक तथ्यांकहरूले १३ वर्षभन्दा कम उमेरका धेरै बालबालिका सामाजिक सञ्जाल प्रयोग गरिरहेको बताउँछन् । डीडब्ल्यू डटकमबाट ।
















