कात्तिक मसान्तसम्मको वित्तिय विवरण अनुसार बैंकमा ग्लोबल र विकास बैंकमा गरिमा शीर्ष स्थानमा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को चौथो महिना (कात्तिक मसान्त) सम्मको वाणिज्य तथा विकास बैंकहरूको वित्तीय कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको प्रतिवेदनले बैंकिङ क्षेत्रमा मिश्रित अवस्था देखाएको छ, जहाँ वाणिज्य बैंकहरूले बलियो नाफा कमाएका छन् भने विकास बैंकहरूको अवस्था भने दबाबमा देखिएको छ। एनआरबीका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूले कुल रु १९ अर्ब ३७ करोड खुद नाफा आर्जन गरेका छन्। यस अवधिमा ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ। बैंकले रु २ अर्ब ५१ करोड खुद नाफा आर्जन गर्दै नबिल बैंकलाई उछिनेको हो। नबिल बैंकले रु २ अर्ब ४६ करोड नाफा कमाउँदै दोस्रो स्थानमा सीमित भएको छ। तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकले समीक्षा अवधिमा रु १ अर्ब ५८ करोड खुद नाफा कमाएको छ।

यसैगरी, एभरेष्ट बैंक र एनएमबी बैंकले पनि उल्लेख्य नाफा आर्जन गर्दै उच्च नाफा गर्ने बैंकहरूको सूचीमा आफूलाई कायम राखेका छन्। यद्यपि, सिटिजन्स बैंक इन्टरनेशनलले सबैभन्दा कम नाफा कमाएको वाणिज्य बैंकको रूपमा रु १ करोड ६४ लाख मात्रै खुद नाफा देखाएको छ। विकास बैंकतर्फ हेर्दा, कुल खुद नाफा रु १ अर्ब ७९ करोड पुगेको छ। तर, १७ मध्ये आठवटा विकास बैंकले कात्तिक महिनामा घाटा व्यहोरेका छन्, जसले यो क्षेत्र अझै चुनौतीमा रहेको संकेत गर्छ। विकास बैंकहरूमध्ये गरिमा विकास बैंकले रु ३९ करोड ७७ लाख खुद नाफा कमाउँदै शीर्ष स्थान हासिल गरेको छ। मुक्तिनाथ विकास बैंकले रु ३८ करोड ४२ लाख नाफासहित दोस्रो स्थान ओगटेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रु ३० करोड २५ लाख नाफा कमाउँदै तेस्रो स्थानमा रहेको छ। नाफाको तल्लो स्तरमा मितेरी विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन्, जसले क्रमशः रु ३ करोड ५० लाख र रु २ करोड १८ लाख मात्रै नाफा कमाएका छन्। यसैगरी, नारायणी, कर्णाली, कर्पोरेट, सिन्धु, सलापा, लुम्बिनी र एक्सेल डेभलपमेन्ट बैंकले समीक्षा अवधिमा खुद घाटा देखाएका छन्। एनआरबीको प्रतिवेदनले ठूला वाणिज्य बैंक र साना विकास बैंकबीचको नाफा अन्तर अझै फराकिलो रहेको र विकास बैंकहरू संरचनात्मक तथा सञ्चालनगत चुनौतीसँग जुधिरहेको देखाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *