मधेस प्रदेशको सभामुखमा रामआशीष यादव निर्वाचित
काठमाडौं । मधेस सभामुख पदमा प्रदेशसभा सदस्य रामआशीष यादव निर्वाचित भएका छन् । यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन् । उनको पक्षमा प्रदेशसभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरूमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।
नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले उनको विपक्षमा मतदान गरेको थियो । प्रदेशसभा सदस्य रामआशीष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् प्रस्तावको पक्षमा प्रदेश सभामा उपस्थित प्रदेशसभा सदस्य संख्याको बहुमत रहेकाले अर्का सभामुख पदका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुपरेको थिएन ।















