रवि-बालेन सहमति सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार (पुस १३) सहमति भएको हो । आइतबार बिहान भएको सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र साहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने भएको छ । दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने सहमति भएको छ । उनीहरूले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक(सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति भएको छ । एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति पनि भएको छ । बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमति भएको छ । यो सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमति भएको छ ।
यस्तो छ सहमतिपत्र

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *