सन नेपाल लाइफद्वारा वीरेन्द्रनगरमा वृक्षारोपण तथा न्यानो ज्याकेट वितरण

काठमाण्डौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा तथा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम” शीर्षकमा सञ्चालन गरिएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्य लिएको थियो। वीरेन्द्रनगर क्षेत्रमा केन्द्रित कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवाहरू रोपण गर्नुका साथै स्थानीय समुदायलाई बिउ वितरण गरिएको थियो। साथै, चिसो मौसमलाई मध्यनजर गर्दै कार्यक्रममा सहभागी ५० जना विद्यार्थीलाई न्यानो ज्याकेटसमेत वितरण गरिएको कम्पनीले जनाएको छ। यस पहलले वातावरण संरक्षणसँगै शिक्षा र सामाजिक कल्याणमा समेत सकारात्मक योगदान पुर्‍याएको आयोजकको भनाइ छ। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख नील लामिछानेको उल्लेखनीय उपस्थिति रहेको थियो।

साथै, लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला तथा कम्पनीका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमका अवसरमा प्रमुख कार्यकारी अधिकृत अर्यालले वातावरण संरक्षण र सामाजिक सेवा सन नेपाल लाइफको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई भविष्यमा देशव्यापी रूपमा निरन्तर विस्तार गरिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनले निजी क्षेत्रले वातावरण र समाजप्रति जिम्मेवार भूमिका निर्वाह गर्नु आजको आवश्यकता भएको समेत बताए। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा वृक्षारोपण, न्यानो कपडा वितरण तथा समुदाय–केन्द्रित विभिन्न कार्यक्रममार्फत वातावरणीय सन्तुलन, सामाजिक जिम्मेवारी र दिगोपनलाई प्रवर्द्धन गर्दै आइरहेको छ। हाल कम्पनीले देशभर १४८ शाखा तथा उप–शाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै नेपाली नागरिकको वित्तीय सुरक्षा र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *