बिजनेस क्लासमा आउनेलाई अध्यागमनमा सोहीअनुसारको सेवासुविधा दिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरूलाई सोहीअनुसारको सेवासुविधा अध्यागमनमा दिनुपर्ने बताएका छन् । विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासा आएको भन्दै उनले सोहीअनुसारको सेवासुविधा दिन सरकारसामु आग्रह गरे । ढकालका अनुसार प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सेवा नदिँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर पार्छ । बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले भने, “कसैले बिजनेस क्लासको टिकट किनेको छ, प्रिमियम तिरेको छ भने अध्यागनमनको लाइनमा उसले त्यहीअनुसारको सुविधा खोज्छ । हामीले गर्ने डिजिसजन कतिपय सरसर्ती हेर्दा अध्यागमनमा नेपालीलाई त ठीकै छ तर विदेशीले तिरेको प्रिमियमअनुसार सुविधा पाएका छैनन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाइ तथा गतिविधिसम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्नु राम्रो भएको बताए । जोशीका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको छ । पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्न सक्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष, सरोज सिटौलाले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताए । उनका अनुसार हवाई मात्रै नभई सडक, यातायात सुरक्षित भए बाह्य मात्र नभई आन्तरिक पर्यटनसमेत बढ्नेछ । धेरै मानिसको पहुँच सार्वजनिक यातायातमा रहेकाले यसको सुधारले समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।

















