पार्टी कार्यालय सानेपाबाटै कमान्ड सम्हाल्दै कांग्रेसको नयाँ नेतृत्व
काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति बिहीबार वा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने तयारी गरेको छ । गत पुस ३० गते विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वसहितको केन्द्रीय समिति हालसम्म केन्द्रीय कार्यालय प्रवेश गरेको छैन । निर्वाचन आयोगले गत माघ २ गते नै विशेष महाधिवेशनलाई वैधानिकता दिँदै कार्यसमिति अद्यावधिक गरेको थियो । तर, विवाद सर्वोच्च अदालत पुगेपछि नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको टिमले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवार छनोटसहितका निर्णय केन्द्रीय कार्यालयबाहिरै बसेर गरेको थियो । मंगलबार सर्वोच्च अदालतले आधिकारिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नवनिर्वाचित केन्द्रीय समितिले कार्यालयबाटै काम सुरु गर्न लागेको हो । निर्वाचन आयोगको निर्णयपछि नै केन्द्रीय कार्यालयमा बसेर काम गर्ने अवस्था बनिसकेको थियो । तर, विवाद सर्वोच्चमा गएपछि द्वन्द्व बढाउनु हुँदैन भनेर हामीले बाहिरै बसेर काम गरेका थियौँ, नवनिर्वाचित केन्द्रीय समितिका प्रवक्ता देवराज चालिसेले भने, पार्टीको टिकट वितरणमा भएको सन्तुलनले नै नवनिर्वाचित कार्यसमितिको वैधानिकता स्थापित गरिसकेको थियो ।
सर्वोच्चको निर्णयपछि अब सबै बाटो खुल्ला भएको छ । प्रवक्ता चालिसेले अहिले केही कार्यकक्षहरू तयार पार्ने र सरसफाइको काम भइरहेकाले बिहीबार वा शुक्रबार कार्यालय प्रवेशको तयारी रहेको जानकारी दिए । अब हामी सम्भव भयो भने भोलि (बिहीबार), भोलि सम्भव भएन भने पर्सी पार्टी अफिस जानेछौँ, उनले भने, पार्टी अफिस गएर गर्नुपर्ने काम धेरै बाँकी छन् । उनले घोषणापत्रसहितका कामहरू अब पार्टी केन्द्रीय कार्यालयबाट हुने जानकारी दिए । चुनावमा जाने उमेदवारहरूलाई घोषणापत्र दिएर पठाउनुपर्ने पहिलो आवश्यकता भएको भन्दै त्यसमा तत्काल काम अघि बढाउने उनले बताए । त्यसबाहेक अन्य प्रचार सामग्रीहरू उमेदवारका लागि प्राविधिक सहयोग सबै काम केन्द्रीय कार्यालयबाटै हुने बताए । पहिलो त आगामी चुनावका लागि पार्टीको प्रतिबद्धता आम नागरिकमा पुर्याउन घोषणापत्र निर्माण गर्नुछ । त्यो सबै प्रचार सामग्रीहरू पनि तयार पार्नु छ, उनले भने, अहिले आम कार्यकर्तासँगको भेटघाटदेखि उमेदवारहरूलाई प्राविधिक सहयोग गर्ने, तल्लो तहसँग सम्पर्क स्थापित गर्ने सबै काम व्यवस्थित भइसकेको छैन । उमेदवार छनोटमा पार्टीमा विगतको तुलनामा असन्तुष्टि कम रहेको भन्दै बाँकी रहेका असन्तुष्टिहरू पनि व्यवस्थापन गरेर जाने गृहकार्य भइरहेको बताए ।
















