निर्वाचन आयोगले सिके राउत, निशा अधिकारी र खगेन्द्र सुनारलाई सोध्यो स्पष्टीकरण

काठमाण्डौं । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउत, गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ। राउत सप्तरी २, अधिकारी काठमाडौं ५ र सुनार बाँके ३ का प्रतिनिधि सभाका उम्मेदवार हुन्। निर्वाचन आयोगका स्रोतका अनुसार आयोगले उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघन लगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो। राउतविरूद्ध आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी छ। आयोगले राउतलाई उजुरीमा उल्लेख भएजस्तो आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन चिह्न र दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गरेको हो वा होइन ? भनेर स्पष्टीकरण सोधेको छ। त्यस्तै अधिकारीविरूद्ध विदेश (अस्ट्रेलिया) मा रहेका नेपालीलाई स्वयमसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने विवरण पठाएको भन्ने उजुरी छ। उनलाई आयोगले तीन वटा स्पष्टीकरण सोधेको छ।
उजुरीमा लेखिएजस्तो तपाईंले आफ्नो निर्वाचन प्रचार सामग्री समेत संलग्न गरी स्वयमसेवक फर्म पठाई आफूलाई आर्थिक —-सहयोग गर्न अनलाइन माध्यमबाट सूचना पठाएको सत्य साँचो हो वा होइन ?
-तपाईंले निर्वाचन प्रयोजनको लागि बैंकमा खाता खोल्नु भएको छ वा छैन ?
– यदि तपाईंले माथि लेखिए जसरी अनलाइन माध्यमबाट विदेशमा रहेका नेपालीलाई आर्थिक सहयोग माग गरी सूचना पठाएको हो भने तपाईंले आर्थिक स्रोत संकलन गर्दा ऐ. आचारसंहिता बमोजिमको व्यवस्थाको पालना गर्ने भएको छ वा छैन ?

सुनारविरूद्ध राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने उजुरी छ। ‘निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (अ) तथा (ठ) र ऐ दफा १३ को उपदफा (१) को खण्ड (ब) को उल्लङ्घन गरी राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने जानकारी प्राप्त हुन आएकाले उक्त आचारसंहिताको उल्लङ्घन हुने कार्य तपाईंबाट भएको हो वा होइन ? यदि माथि उल्लिखित कार्य भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिता, २०८२ र प्रचलित निर्वाचन कानून बमोजिम कारबाही किन नगर्ने ?,’ आयोगले भनेको छ। उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *