इन्धनको मूल्यमा वृद्धिसँगै बढ्यो हवाई भाडादर
काठमाण्डौ । खाडी क्षेत्रमा जारी लडाइँका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च भएसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा वृद्धि गरेसँगै बुधबारदेखि देशभरका अधिकांश आन्तरिक उडान गन्तव्यमा हवाई भाडा बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन मूल्य वृद्धिपछि वायुसेवा कम्पनीहरूसँगको समन्वयमा नयाँ भाडादर लागू गरिएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पश्चिम एसियाको द्वन्द्वले इन्धन आपूर्ति र मूल्य दुवैमा असर पुर्याएको छ, जसका कारण आयल निगमले हवाई इन्धनको मूल्य ७५ प्रतिशतले बढाएको हो। यही कारणले पर्वतीय उडानसहित सबै आन्तरिक गन्तव्यको भाडा समायोजन गरिएको उहाँले बताउनुभयो। हाल हवाई भाडा निर्धारण गर्दा सरकारले तोकेको लागत दर, हवाई इन्धनको मूल्य, विमानस्थल शुल्क र १३ प्रतिशत भ्याटलाई आधार मानिन्छ। यीमध्ये कुनै एक पक्षमा परिवर्तन आएमा समग्र भाडा समायोजन हुने व्यवस्था रहेको छ। यद्यपि लागत दर २०७३ सालदेखि स्थिर नै रहेको छ। वायुसेवा सञ्चालक सङ्घका अनुसार आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएपछि इन्धनको नयाँ मूल्य २५१ रुपैयाँ पुगेको छ।
यसले उडान सञ्चालन खर्च बढेपछि भाडा वृद्धि गर्न बाध्य भएको संघले जनाएको छ। नयाँ भाडादर हेलिकोप्टर सेवामा समेत लागू गरिएको छ। बढेको भाडाअनुसार काठमाडौँ–धनगढी रुटमा सबैभन्दा धेरै पाँच हजार ४८० रुपैयाँले वृद्धि भई ११ हजार ९० रुपैयाँ पुगेको छ। त्यस्तै काठमाडौँबाट हुने पर्वतीय उडानको भाडा चार हजार २२५ रुपैयाँले बढेर आठ हजार ६१५ रुपैयाँ पुगेको छ। अन्य गन्तव्यमा पनि भाडा बढेको छ, जसअनुसार काठमाडौँ–भद्रपुर तीन हजार ७२५, विराटनगर दुई हजार ९८०, जनकपुर एक हजार ६००, भरतपुर एक हजार ३३०, पोखरा एक हजार ९७०, भैरहवा दुई हजार ५५५, नेपालगञ्ज चार हजार ४५, तुम्लिङटार दुई हजार २९०, सिमरा एक हजार १२०, सुर्खेत चार हजार ४२८५ र राजविराज दुई हजार ५४० रुपैयाँले भाडा वृद्धि भएको छ।
















