आजदेखि २०८३ साल सुरु, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति पनि हो ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी संकल्प गर्दछन् । विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । भक्तपुरमा आज बिस्का जात्रा पनि गरिन्छ । तराईमा आज मात्रै सहलेश फूल फूल्ने भएकाले पनि यसको छुट्टै महत्त्व र विशेषता रहेको छ ।
















