कांग्रेसद्धारा संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु
काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका मुद्दा पहिचानका लागि काम सुरु गरेको छ । कांग्रेसको संविधान संशोधन सुझाव समितिले मंगलबारबाट काम प्रारम्भ गरेको हो । पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको बैठक बसेको छ । बैठकमा पार्टी पदाधिकारीहरूले संविधान संशोधनको आवश्यकताबारे धारणा राखेका थिए । संविधान जारी भएको एक दशकमा त्यसभित्र रहेका कमजोरी सुधार्नुपर्ने मत सबैको थियो । त्यसका लागि कांग्रेसको समितिले विज्ञहरूसँगको छलफललाई तीव्रता दिने भएको छ । समितिले संविधानको सुक्ष्म अध्ययन गर्दै संशोधनको प्रस्तावित मस्यौदा समेत तयार गर्ने समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान कार्यदल गठन गरेको छ । कांग्रेसले आफैँ समिति बनाएर संशोधनका मुद्दा पहिचानको गृहकार्य थालेको हो । सरकारले बनाएको समितिमा पार्टीको प्रतिनिधि पठाउने विषयमा कुनै निर्णय नभएको सचिव कटुवालले बताए । काँग्रेसले बनाएको समितिको सदस्यहरूमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्र केशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्र बहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितबहादुर बस्नेत, अधिवक्ताहरू रणबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता छन् ।
















