उद्योगी पवन गोल्याणको स्पष्टिकरण : दीपक भट्ट र हिमालयन रिइन्स्योरेन्ससँग कुनै सम्बन्ध छैन


प्रतिष्ठित उद्योगी पवनकुमार गोल्याणले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग आफ्नो कुनै पनि प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। पछिल्लो समय एक सञ्चारमाध्यममा आफ्नो नाम भट्टसँग जोडेर प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै गोल्याणले उक्त समाचारलाई पूर्ण रूपमा भ्रामक, अप्रमाणित र कपोकल्पित बताएका हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गोल्याणले आफूलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भएको उल्लेख गरे। “समाचारमा मेरो व्यक्तित्व, पेशागत आचरण तथा सामाजिक प्रतिष्ठामाथि प्रत्यक्ष असर पर्ने गरी तथ्यहीन विवरण प्रस्तुत गरिएको छ,” उनले भने। गोल्याणका अनुसार अनुसन्धानमा रहेका दीपक भट्टसँग उनको कुनै साझेदारी वा व्यावसायिक सम्बन्ध छैन। साथै, हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा समेत आफूले कुनै पनि समयमा शेयर धारण नगरेको स्पष्ट पारेका छन्। उनले यस प्रकारका आधारहीन समाचारले आफू मात्र नभई आफ्नो परिवारको प्रतिष्ठामा समेत गम्भीर असर पारेको उल्लेख गरेका छन्। दशकौँदेखि निर्माण भएको सामाजिक छविमा आँच पुग्ने गरी गरिएको यस्तो प्रकाशन पत्रकारिताको आधारभूत मूल्य र आचारसंहिताविपरीत रहेको उनको भनाइ छ। “हचुवा र अनुमानको आधारमा यस्ता गम्भीर विषयमा नाम जोड्नु गैर–जिम्मेवार कार्य हो,” उनले उल्लेख गरेका छन्। गोल्याणले आम सर्वसाधारण, शुभेच्छुक तथा व्यवसायी समुदायलाई यस्ता भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेका छन्। साथै, भविष्यमा समाचार प्रकाशन गर्दा तथ्य र प्रमाणमा आधारित भएर मात्र प्रस्तुत गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेका छन्। उनले गलत सूचना प्रसारणले पत्रकारितामाथिको विश्वासमा समेत असर पर्ने भन्दै जिम्मेवार सञ्चार अभ्यासको आवश्यकता औंल्याएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *