अध्यादेश ल्याउन लागिएकोप्रति कांग्रेसको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको अध्यादेशप्रति कडा आपत्ति जनाएका छन् । यसलाई लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय पद्धतिमाथिको प्रहार भएको उनले बताए। नेपाली कांग्रेसका महामन्त्री पौडेलले मङ्गलबार सरकारको कदमलाई “जनमतप्रतिको गैर जिम्मेवारी” को संज्ञा दिएका हुन्। उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारले आफ्नै सांसदमाथि विश्वास गर्न नसकेको प्रश्न उठाउँदै अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिले संसदीय सर्वोच्चतालाई कमजोर बनाएको टिप्पणी गरे।
“यो विधिको शासनमाथिको उपहास मात्र होइन, जनताको अपमान पनि हो,” वक्तव्यमा उल्लेख छ। पौडेलका अनुसार सरकारको यस्तो कदमले आफ्नै दलका निर्वाचित प्रतिनिधिहरूप्रति समेत अनुत्तरदायित्व झल्काउँछ। उनले लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा माथि कोही हुन नसक्ने स्मरण गराउँदै संसदीय जवाफदेहितालाई पूर्ण पारदर्शी बनाउन आग्रह गरेका छन्। कांग्रेसले तत्काल अध्यादेश फिर्ता लिन, संसद् आह्वान गर्न र जननिर्वाचित संस्थामार्फत मात्र निर्णय प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ।

















