नौटङ्की गर्ने थलो होइन शिक्षा मन्त्रालय
कुनै पनि मुलुकलाई सिद्धाउनु छ भने त्यो देशको शिक्षालाई ध्वस्त गराउनुपर्छ भन्ने कहावत छ । त्यो कुरा अनुभवसिद्ध तथ्य हो । भारतमा अङ्ग्रेजले आफ्नो उपनिवेशलाई सुदृढ थियो । मेकालेले बनाएको त्यो शिक्षा नीति भारतमा मात्र होइन नेपालमा पनि आज प्रयत्न कायम छ । नेपाललाई कब्जा गर्ने अर्को षड्यन्त्रको कडी वर्तमान शिक्षामन्त्री सस्मित पोखरेल भएका छन् । बालेन्द्र साह नेतृत्वको रहस्यमयी सरकारका शिक्षामन्त्री पोखरेल कसले सञ्चालन गरेका प्यादा हुन त्यो त समय क्रममा खुल्ने नै छ । तर उनको शिक्षा मन्त्रालयको जिम्मेवारी पाउनु र उनले सुरुदेखि नै बचकना हर्कत देखाउनुले यो कुनै बनिबनाउ योजनाको अङ्ग हो भन्ने कुरा भने बिस्तारै सत्य साबित हुँदै छ । पोखरेल कुनै योग्यता, क्षमता र निष्ठाको जगमा शिक्षामन्त्री भएका होइनन् । उनले मन्त्री हुने बित्तिकै गरेको निर्णयले सारा दुनियाँलाई चकित पारेको थियो ।
मन्त्री भएपछि उनले बिज्रकोर्ष, विभिन्न खालका तयारी कक्षा, इन्ट्रान्स तयारी गराउने कोचिङलाई खारेज गर्ने निर्णय गरे । त्यो निर्णयको आयु २४ घण्टा पनि रहेन । उनले त्यसलाई भोलिपल्टै फिर्ता लिएर एसइईपछिको बिज्रकोर्षलाई मात्र प्रतिबन्ध लगाएको भने । मन्त्रालय, मन्त्री र कुनै व्यक्तिलाई कुनै तयारी कक्षामाथि प्रतिबन्ध लगाउने अधिकार रहँदैन । उनको नौटङ्कीले त्यति बेला सीमा नाघ्यो जब उनले संविधानले नै नदिएको स्कुल शिक्षामाथि फर्मान जारी गरे । अहिले संविधानले नै आधारभूत र मावि स्तरीय शिक्षाको दायित्व स्थानीय सरकारलाई दिएको छ । शिक्षक व्यवस्थापन, पठनपाठनदेखि पाठ्यक्रम विकाससम्म स्थानीय सरकाले गर्छ । स्कुल खोल्ने, पठनपाठन सुचारु गर्ने, परीक्षा लिने, परिणाम घोषण गर्ने, नयाँ शैक्षिक सत्रको भर्ना लिने सारा अधिकार स्थानीय सरकारलाई छ । स्थानीय सरकारले नै शैक्षिक क्यालेन्डर बनाएर विगत एक दशकदेखि स्कुले शिक्षा सञ्चालन गरिरहेका छन् । तर यी पोखरेल मन्त्री भएर आएपछि फलानो दिनदेखि भर्ना लिनु, फलानो दिनदेखि पढाई गर्नु भन्ने फरमान जारी गरे । त्यो स्थानीय सरकारको अधिकारमाथिको नाङ्गो हस्तक्षेप मात्र थिएन बरु देशको शैक्षिक क्षेत्रलाई तहसनहस गराउने साजिस पनि थियो । स्थानीय सरकारहरू, निजी तथा आवासीय विद्यालयका सङ्गठन गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घ, काठमाडौँ उपत्यका मेयर सङ्घ सबैले सङ्घीय सरकारको शिक्षा मन्त्रालयको उक्त निर्णय विरुद्ध एक भएर खडा भएपछि स्कुलहरू त मन्त्रीले तोकेको मितिभन्दा पहिले नै खुले तर मन्त्रीले आफ्नो इज्जत धान्न स्कुलहरूमा आतङ्क मच्चाउन थाले ।
सादा पोशाकका प्रहरी पठाएर स्कुल प्रशासनलाई धम्क्याउने काममा उनले सक्रियता देखाए । मन्त्रीको संलग्नता आबोडस्टडीसँग सम्बन्धित ग्राहक भएको कुरा हालै सार्वजनिक भएको छ । यसले पनि उनको स्वच्छ छविलाई प्रस्ट पार्छ । प्रधानमन्त्रीले अति विश्वास गरेर सरकारको प्रवक्ता बनाएका शिक्षामन्त्रीको क्षमता पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा हालै प्रस्ट देखिएको छ । उनलाई शिक्षा, शिक्षा नीति कार्यक्रम केहीको पनि ज्ञान नभएको कुरा त्यही कार्यक्रमले छर्लङ्ग देखाएको छ । यस्ता पाखण्डी र अहङ्कारीलाई शिक्षा जस्तो अत्यन्त महत्त्वपूर्ण र संवेदनशील मन्त्रालयको जिम्मा किन लगाइयो यस्ताको हातमा परेको मन्त्रालयले आफ्नो लक्ष्य कसरी पूरा गर्छ भन्ने प्रश्न अहिले गम्भीर रूपमा उठेको छ ।















