राष्ट्रपति पौडेलले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । बिहीबार उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् । गएको सोमबार (वैशाख १४) बसेको मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो ।
मंगलबार (वैशाख १५) राष्ट्रपतिको कार्यालयमा अध्यादेश पुर्याइएको थियो । बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन, इजाजतपत्र अनिवार्य र समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्नेलगायत विषय यो अध्यादेशमा समेटिएको छ । अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र दुवै सदनबाट पारित गर्नुपर्ने प्रावधान छ । अन्यथा स्वतः निष्क्रिय हुनेछ । सरकारले आह्वान गरिएको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको हो । सरकारले योसहित ६ अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।















