जीवन नै देशलाई समर्पित जनताको नेता हुँ, सत्यको कसीमा जाँचिन तयार छु : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्ना घर तथा कार्यालयमा गरेको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति व्यक्त गरेका छन् । उनले आज जारी गरेको विज्ञप्तिमा भनेका छन्, आफ्नो जीवनको महत्त्वपूर्ण ऊर्जाशील समय युवा देखि विद्यार्थी अवस्था हुँदै चालिस वर्ष भन्दा लामो राजनीतिक यात्राका कैयौँ आरोह अवरोह पश्चात् हाल म बागमती प्रदेश सरकारको सरकार प्रमुखको रूपमा जनताको सेवक भई मुख्यमन्त्रीको पदमा रहेको सम्पूर्ण नागरिकलाई सर्वविदितै छ । आज मिति २०८३ साल वैशाख २१ गतेका दिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौँडा र काठमाडौँस्थित मेरो घर एवं विगतमा म समेत संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापामारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । म बागमती प्रदेशको मुख्यमन्त्री भएपछि मेरो प्रमुख प्राथमिकता नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको निर्माण रहेको सबैलाई जानकारी नै छ । सोही अनुसार मैले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययीताका लागि निरन्तर काम गर्दै आएको छु । आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम र बजेटमा पारदर्शितालाई नीतिगत रूपमा अगाडि बढाइएको बेहोरा सबैको जानकारीमा छ ।

तीन तहको सरकारमध्ये प्रदेश सरकारको सरकार प्रमुख मुख्यमन्त्री हो । तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ । सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैँ साथ रहन्छ । राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा म सहयोग गर्न तत्पर रहेको स्पष्ट पार्न चाहन्छु । राजनैतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु । तर विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ । राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात गरिएको छापामारी प्रति आपत्ति जनाउँदछु । अन्त्यमा, राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापामारीबाट बागमती प्रदेश बासी एवम् मेरा शुभेच्छुक र शुभचिन्तकलाई भ्रमित र चिन्तित नहुन अनुरोध गर्दछु । म यहाँहरूको सेवामा सधैँ तत्पर रहनेछु । जय नेपाल !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *