कम्बोडियामा नयाँ कानुन लागु, पाँच लाख डलरसम्म जरिबाना र आजीवन कैद सजाय हुने

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि सकिएका र त्यहाँका स्क्यामिङ सेन्टरमा काम गरिरहेका नेपालीलाई तुरुन्त नेपाल फर्कन अनुरोध गरेको छ । त्यहाँ सरकारले नयाँ कानुन कार्यान्वयनमा ल्याएपछि कम्बोडिया समेत हेर्ने जिम्मेवारी पाएको बैंककस्थित नेपाली दूतावासले सो अनुरोध गरेको हो । आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न भएको छ भने तुरुन्त त्यस्तो कार्य बन्द गरी नेपाल फर्कन राजदूतावास पुनः अनुरोध गर्दछ, दूतावासले सोमबार ९वैशाख २१० जारी गरेको सूचनामा भनिएको छ । विभिन्न उद्देश्यले, विशेषगरी पर्यटनको बहानामा कम्बोडिया गई आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिकहरू त्यहाँ बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । केही नेपाली नागरिकहरू कम्बोडियामा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी समेत प्राप्त भएको सूचनामा उल्लेख छ । अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध हो । यस प्रकारका गतिविधि नियन्त्रण तथा अन्त्य गर्न र यसमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित कम्बोडिया सरकारले गत हप्तादेखि नयाँ कानुन लागु गरेको छ । साथै, अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई समेत तीव्र बनाएको छ, नेपाली दूतावासले भनेको छ । उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान दूतावासले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीका लागि विदेश जानुअघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गरी रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले भनेको छ । नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकहरूको तथ्यांक तथा सूचना संकलन गरिरहेको हुँदा अनलाइन फाराम भरेर सहयोग गर्न पनि दूतावासले अनुरोध गरेको छ । यदि आफ्नो परिवारका सदस्य, आफन्त, नातेदार वा साथीहरूमध्ये कोही कम्बोडियामा श्रम स्वीकृतिबिना पर्यटकीय भिसामा गई लामो समयदेखि बसिरहनुभएको छ वा कुनै अप्ठ्यारो अवस्थामा पर्नुभएको छ भने सोसम्बन्धी जानकारी नेपाली राजदूतावास, बैंककमा वा कन्सुलर सेवा विभाग, परराष्ट्र मन्त्रालय, त्रिपुरेश्वरमा उपलब्ध गराइदिनु हुन समेत अनुरोध गरिन्छ, दूतावासले भनेको छ । दूतावासले आफूलाई कम्बोडिया पुर्‍याउने व्यक्ति उपर नेपाल फर्केपछि तथा कम्बोडियाबाट नै पनि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गर्नको लागि समेत अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *