भक्तपुर क्यान्सर अस्पतालमा जटिल मस्तिष्क शल्यक्रिया
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा एक जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । न्यूरोसर्जन डा. राजीव शाहको नेतृत्वमा शल्यक्रिया भएको थियो । बिरामी दुईसाता अघि नै डिस्चार्ज भइसकेको डा.शाहले जानकारी दिए । उनका अनुसार बिरामी काभ्रेपलाञ्चोककी ४५ वर्षीया महिला हुन् । उनी बेलाबेलामा बेहोस् हुने र टाउको दुख्ने समस्या लिएर अस्पताल आएकी थिइन् । उक्त शल्यक्रियामा मस्तिष्कको रक्तनलीमा भएको एन्युरिज्मलाई क्लिप लगाएर उपचार गरिएको हो । एन्युरिज्म भनेको फुट्न सक्ने जोखिमयुक्त फोका हो । शल्यक्रियाको टोलीमा न्युरोसर्जन डा. पुरुषोत्तम बानियाँ, एनेस्थेसियोलोजिस्ट टोली तथा नर्सिङ टोलीको महत्त्वपूर्ण भूमिका रहेको थियो । अत्याधुनिक प्रविधि र विशेषज्ञतापूर्ण हेरचाहका कारण शल्यक्रियापछि कुनै जटिलताबिना बिरामीले पूर्ण स्वास्थ्यलाभ गरेको डा शाहले बताए । ‘यो शल्यक्रिया मस्तिष्कको अतिसूक्ष्म रक्तनलीमा गर्नुपर्ने भएकाले सानो त्रुटिले पनि गम्भीर परिणाम ल्याउन सक्थ्यो’ डा.शाहले भने, ‘पूरै टोलीको समन्वय, आधुनिक उपकरण र अनुभवका कारण हामी सफल भयौं ।’ क्यान्सर अस्पतालमा यस किसिमको विशिष्टीकृत न्यूरोभास्कुलर सेवा उपलब्ध गराउन पाउनु महत्त्वपूर्ण उपलब्धि भएको डा. पुरुषोत्तम बानियाँले बताए। यस सफलताले भक्तपुर क्यान्सर अस्पतालमा जटिल न्युरोसर्जरी सेवाको क्षमता र गुणस्तर थप पुष्टि भएको उनको भनाइ छ । यो अस्पतालको न्यूरोसर्जरी विभागले पछिल्लो समय मस्तिष्कघात, ब्रेन ट्युमर, स्पाइनल सर्जरी तथा न्यूरोभास्कुलर समस्याका जटिल शल्यक्रिया गर्दै आएको छ । यस सफलताले मुलुकमा सरकारी स्तरबाटै उच्चस्तरीय स्नायु शल्यक्रिया सेवा पाउन सकिनेमा बिरामीहरूमा आशा जगाएको डा।शाहले बताए ।















